कुलमान घिसिङको संघर्ष : राजको ‘बादलहरु’मा उज्यालोको कथा


प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङको संघर्ष समेटिएको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ ।  राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक कार्यक्रमा कुलमान स्वयं उपस्थित हुनुहुन्थ्यो । यो गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गर्नु भएको हो भने संगीत मानव सुवेदीको रहेको छ ।

कार्यक्रमा बोल्दै कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताउनुभयो । उहाँले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुना कुनामा बिजुली पुर्याउन दत्तचित्त रहेको बताउनु भयो । उहाँले ९५ प्रतिशत जनताको घर आँगनमा बिजुली पुग्न लागेको पनि जानकारी दिनुभयो ।

नेपाली टचको प्रस्तुति रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभागिता थियो । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ । कार्यक्रममा अभिनेता राजेश हमालले कला र समाजको बिषयमा धारणा राख्नु भएको थियो।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नु भएको छ । गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिनु भएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको बताउनु भएको छ । गीतलाई सुशील सापकोटाले छायांकन गर्नु भएको छ भने भिडियोको सम्पादन मानव स्वयंले गर्नु भएको हो ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com