Follow @khasokhasmag

ग्रिनकार्ड, वर्कपरमिट लगायतका आवेदन ५ श्रेणीमा परेमा छिटो निर्णय दिनेबारे थप स्पष्ट


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

कैयन प्रकारका आवेदनमा निर्णय गर्न युएससीआईएसले लामो समय लगाइरहेको सन्दर्भमा निश्चित प्रकारका आवेदनमा छिटो फैसला दिने नीतिमा युएससीआईएसले थप उदाहरणसहित अपडेट गरेको छ । युएससीआईएसले लामो समय लगाइरहेको सन्दर्भमा निश्चित प्रकारका आवेदनमा छिटो फैसला दिने नीति गत जुन ९ मा पुनस्थापना गर्दै शीघ्र निर्णयका मापदण्ड र अवस्थाहरुबारे नीति अपडेट गरेको थियो ।

युएससीआईएसले आज गरेको अपडेटमा आईआरएसबाट निर्धारित गैरनाफामुलक संस्थाका तर्फबाट छिटो निर्णयका लागि गरिएका अनुरोधको मापदण्ड र परिस्थितिहरू स्पष्ट पारिएको छ । त्यस्तै अमेरिकाको लेबर र रोजगार एजेन्सीहरुसहित संघीय, राज्य वा स्थानीय निकायबाट छिटो निर्णयका लागि कस्तो अवस्थामा गरिएका अनुरोध स्वीकार गरिने भन्नेबारे थप उदाहरणहरु दिइएको छ ।

थप उदाहरणसहित अपडेट गरिएको सम्पूर्ण नीति यहाँ पढ्नसक्नुहुनेछ ।

आपकालिन मानवीय कारणसँग छिटो निर्णयका लागि गरिएका अनुरोध सम्बन्धित भए नभएकोबारे पनि थप उदाहरणहरु दिइएको छ । आवेदकका सन्दर्भमा कार्यस्थलको निरिक्षण आवश्यक भएको वा प्राथमिक अध्यागमन सुविधाका आधारमा भर पर्ने आवेदनका सन्दर्भमा कसरी युएससीआईएसले छिटो निर्णय दिने क्षमता प्रभावित हुन्छ वा निर्णयमा ढिलाई हुन्छ भन्नेबारे पनि प्रष्ट पारिएको छ ।

यस अगाडि गत जुनमा युएससीआईएसले कुन आवेदनमा शीघ्र फैसला आवश्यक छ भन्ने निर्धारण गर्नका लागि नयाँ मापदण्डहरुको प्रयोग गर्न सुरु गरेको थियो । युएससीआईएसले नीति निर्देशिकामा कस्ता कस्ता मापदण्डहरु पूरा गरेको खण्डमा आवेदन शीघ्र निर्णयको लागि योग्य हुन्छ भन्ने स्पष्ट पारिएको छ ।

अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनबारे शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्ने प्रावधान रहेको छ । तर युएससीआईएसले हरेक केस अनुशार त्यस्ता अनुरोधबारे निर्णय लिने गर्छ । र मापदण्ड पूरा गरेकाहरुलाई शीघ्र फैसला दिने गर्छ ।

आईआरएसबाट गैर नाफामुलक संस्थाका रुपमा मान्यता पाएका संस्थाका तर्फबाट अमेरिकाको सामाजिक र सांस्कृतिक रुचीमा पर्ने आवेदनबारे शीघ्र फैसलाका लागि अनुरोध गर्नसक्ने प्रावधानलाई गत जुनमा पुनस्थापना गरेको थियो । कतिपय आवेदनमा अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेस गर्नसक्ने प्रावधान भएपनि नियमित आवेदनमा समेत युएससीआईएसले शीघ्र निर्णय दिन्छ ।

देशनिकालाका प्रकृयामा रहेका वा देशनिकालाको अन्तिम आदेश पाएकाहरुका सन्दर्भमा कुनै अध्यागमन सुविधाका लागि गरिएको अनुरोधमा शीघ्र प्रकृया गर्दा युएससीआईएस र आइसबीचको समन्वयमा गरिन्छ । विभिन्न ५ प्रकारका मापदण्ड पूरा गरेका आवेदनका सन्दर्भमा युएससीआईएसले शीघ्र निर्णय दिने नीति रहेको छ ।

यदि व्यक्ति वा कम्पनीलाई गम्भिर प्रकारको आर्थिक क्षति हुने अवस्था भएको खण्डमा समयमा फाइल गरिएका आवेदनका सन्दर्भमा युएससीआईएसले शीघ्र निर्णय दिनसक्नेछ । यो मापदण्ड अनुशार कम्पनीले केसबारे छिटो निर्णय नभए गम्भीर आर्थिक क्षति भोग्नुपर्ने, कम्पनी असफल हुने, महत्वपूर्ण सम्झौता गुम्ने वा अन्य कर्मचारीहरूलाई हटाउनुपर्ने अवस्था आउनसक्ने अवस्था प्रमाणित गर्न सक्नुपर्छ ।

उदाहरणका लागि कुनै मेडिकल अफिसमा डाक्टरको वर्क परमिटको अवधि खाली हुन गएमा उसका सहायकहरुले समेत काम छाड्नुपर्ने अवस्था आएमा शीघ्र निर्णयको योग्यताभित्र पर्नेछ । तर एक्लै काम गर्नका लागिमात्र आवेदकलाई वर्क परमिट आवश्यक पर्ने र कम्पनी वा अन्य व्यक्तिलाई नोक्सान नहुने भएमा भने शीघ्र निर्णयको योग्यता नपुग्नसक्छ ।

त्यस्तै आपतकालिन वा जरुरी मानवीय कारणहरु रहेको खण्डमा पनि आवेदनमा शीघ्र निर्णयको अनुरोध गर्न सकिन्छ । उदाहरणका लागि यदि व्यक्ति सिकिस्तै बिरामी भएको खण्डमा उपचारका लागि यात्रा गर्न महत्वपूर्ण आवश्यकता भएमा यो मानवीय कारणमा पर्नसक्छ ।

गैर नाफामुलक संस्थाका रुपमा मान्यता पाएका संस्थाका तर्फबाट अमेरिकाको सामाजिक र सांस्कृतिक रुचीमा पर्ने आवेदनबारे शीघ्र निर्णय गर्न सकिने प्रावधान आजबाट थपिएको हो । युएससीआईएसले प्रिमियम प्रोसेसको सुविधा भएका आवेदनमा सामान्यतया शीघ्र निर्णयको अनुरोध स्वीकार नगर्ने भएपनि गैर नाफामुलक संस्थालाई भने छुट दिइएको छ ।

अमेरिकाका रक्षा मन्त्रालय, श्रम मन्त्रालय, गृहमन्त्रालय वा सार्वजनिक सुरक्षा तथा राष्ट्रिय सुरक्षाका सन्दर्भमा जरुरी आवेदनहरु भएमा पनि युएसीआईएसले शीघ्र निर्णय दिनेछ । अमेरिकी सरकारको रुचीमा पर्ने त्यस्ता आवेदनहरु शीघै निर्णयका लागि योग्य हुन्छन् ।

त्यस्तै युएससीआईएसको गल्तीको मापदण्डभित्र पर्ने आवेदनहरु पनि शीघ्र निर्णयका लागि योग्य हुनेछन् ।

आवेदनबारे शीघ्र निर्णयका लागि कसरी अनुरोध गर्ने भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com