ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका केहीलाई नयाँ आवेदनमा शुल्क नलिइने


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका निश्चित आवेदकहरुलाई नयाँ आप्रवासी भिसा आवेदनमा शुल्क नलिइने भएको छ । यस सम्बन्धि अमेरिकी विदेश मन्त्रालयको नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुने भएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा कार्यकारी आदेश ९६४५ र ९९८३ बाट प्रभावित भएकाहरुलाई नयाँ आप्रवासी भिसा आवेदन दिंदा शुल्कमा छुट दिइने भएको छ । सन् २०१७ को डिसेम्बर ८ देखि सन् २०२० जनवरी १९ सम्म प्रभावितहरुले यस्तो छुट प्राप्त गर्नेछन् ।

ट्रम्पका यी कार्यकारी आदेशले यात्रा प्रतिबन्धहरु लगाएका कारण कैयन देशका आप्रवासीहरुको यी कार्यकारी आदेशका आधारमा आप्रवासी भिसा अस्वीकृत भएको थियो । गतबर्ष राष्ट्रपति जो बाइडेनले यात्रा प्रतिबन्ध लगाउने ट्रम्पका कार्यकारी आदेशहरु खारेज गर्दै कार्यकारी आदेश जारी गरेका थिए ।

अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २१२ एफ अन्तरगत भिसा अस्वीकृत भएकाहरुले यस्तो छुट प्राप्त गर्नेछन् । राष्ट्रपति बाइडेनले विदेश मन्त्रालयलाई ट्रम्पको कार्यकारी आदेशहरु ९६४५ र ९९८३का आधारमा भिसा अस्वीकृत भएकाहरुको भिसा पुनर्विचार गर्न निर्देशन दिएका थिए ।

त्यस अनुशार अब आप्रवासी भिसाको अध्यावधि इमिग्रेशन आवेदन रहेकाहरुले नयाँ भिसा आवेदन दिन सक्नेछन् । त्यसका लागि नयाँ भिसा शुल्क तिर्नुपर्ने छैन । सन् २०२० को जनवरी २० वा त्यसपछि अस्वीकृत भएका भिसाका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com