अमेरिकामा पुन: शरणार्थी भित्राउन सुरु, बार्षिक कोटा १ लाख २५ हजार


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

अस्थायी रुपमा लगाइएको रोकपछि अमेरिकामा यसैसातादेखि शरणार्थी प्रवेश पुन: सुरु भएको छ । अफगानिस्तानबाट बिस्थापितहरुको पुनर्वासमा ध्यान केन्द्रीत गर्नका लागि गतबर्षको अन्तिमतिर शरणार्थी कार्यक्रम स्थगित गरिएको थियो ।

बाइडेन प्रशासनले केही अपवादहरुका मापदण्ड पूरा नगरेसम्म शरणार्थीहरूको प्रवेश रोकेको थियो । अफगानिस्तानबाट बिस्थापित दशौं हजार अफगानीहरूलाई समायोजन गर्न अधिकारीहरू र शरणार्थी पुनर्वास एजेन्सीहरूले ध्यान केन्द्रीत गरेका कारण अन्य शरणार्थीहरुलाई प्रकृयामा लैजान प्राथमिकता दिइएको थिएन ।

विदेश मन्त्रालयका प्रवक्ताका अनुशार अब अमेरिकी सरकार शरणार्थी भित्राउने सन्दर्भमा पुरानै लयमा फर्किने भएको छ । जसको अर्थ सबै प्रकृया र जाँचहरू पार गरिसकेका विश्वभरका शरणार्थीहरूलाई अमेरिकामा आउन अनुमति दिइनेछ। मंगलबारदेखि लागु हुनेगरी विगतका सबै प्रतिबन्धहरु हटाइएको हो ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार जनवरी ६ सम्ममा झण्डै ५५,००० अफगानीहरूलाई राष्ट्रव्यापी रूपमा पुनर्वास गरिएको छ भने करिब २०,५०० मानिसहरू घरेलु सैन्य अड्डाहरूमा रहेका छन्।

नोभेम्बर ३० सम्म नयाँ आर्थिक वर्षमा २ हजार भन्दा बढी शरणार्थीहरूलाई अमेरिकामा पुनर्वास गरिएको छ । आर्थिक वर्ष २०२२ मा अधिकतम १ लाख २५ हजारसम्म शरणार्थीहरु अमेरिकामा पुनर्वास गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com