आजदेखि वकिल नभएका एसाइलमका मुद्दाको सुनुवाई स्थगित, यसरी हेर्नुहोस् स्थगित भए नभएको


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

अमेरिकी अध्यागमन अदालतमा वकिल नभएका एसाइलमका मुद्दाको सुनुवाई आजदेखि स्थगित भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले भोलिदेखि लागु हुने गरी वकिल नभएका हिराशतमा नरहेकाहरुको मुद्दाको सुनुवाई स्थगित गरिएको जनाएको छ ।

आफ्नो सुनुवाई स्थगित भए नभएको बारे अनिश्चित हुनेहरुले अटोमेटेड अदालतको सुचना प्रणालीमा हेर्न सकिनेछ । त्यस्तै ८०० ८९८ ७१८० वा आफ्नो मुद्दा रहेको अदालतमा फोन पनि गर्न सकिनेछ । अनलाइनबाट हेर्न यहाँ क्लीक गर्नुहोला ।

हिराशतमा रहेकाहरुको र वकिल वा अन्य प्रतिनिधि भएकाहरुको सुनुवाई भने जारी राखिने जनाइएको छ । हिराशतमा रहेकाहरुको बोण्ड सुनुवाई र हिराशत पुननिर्धारणका मुद्दाहरुमा पनि सुनुवाई जारी राखिने जनाइएको छ । हिराशतमा नरहेकाहरुको वकिल वा कानूनी प्रतिनिधि भएका मुद्दाको सुनुवाई पनि जारी रहनेछ ।

अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएका अमेरिका बाहिर रहेकाहरुको सुनुवाई पनि जारी नै रहनेछ । वकिल वा अन्य प्रतिनिधिपनि नरहेका र हिराशतमा पनि नरहेकाहरुको जनवरी ३१ सम्मका लागि सुनुवाई तय भएका मुद्दामा अदालतमा उपस्थीत हुन नपर्ने जनाइएको छ ।

सुनुवाई स्थगित भएकाहरुका लागि एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सुचना पठाउने जनाएको छ । तर जनवरी १५ भन्दा अगाडि सुनुवाई तय भएका र स्थगित गरिएका मुद्दाका सन्दर्भमा भने अगाडि नै त्यस्तो सुचना प्राप्त नहुन पनि सक्ने जनाइएको छ ।

हिराशतमा रहेकाहरु र वकिल वा अन्य प्रतिनिधि भएका हिराशतमा नरहेकाहरुको सुनुवाई फोन वा अनलाइनमार्फत गरिने जनाइएको छ । तर अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएका अमेरिका बाहिर रहेकाहरुको सुनुवाईका लागि भने व्यक्ति नै उपस्थीत हुनुपर्नेछ ।

हिराशतमा पनि नरहेका र वकिल पनि नभएकाहरुको सुनुवाईको अर्को मिति दिइने भएतापनि पहिले नै मितिमा सुनुवाई चाहनेहरुले अध्यागमन अदालतमा फोन गरेर तोकिएकै मितिमा सुनुवाईको अनुरोध भने गर्नसक्ने जनाइएको छ । त्यस्तो अनुरोध स्वीकार भएको खण्डमा फोन वा अनलाइनमार्फत सुनुवाई हुनेछ । अन्यथा सुनवाईको नयाँ मिति र समय सहित सुचना पठाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com