राज्यमन्त्री सवार गाडी दुर्घटना


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा आज साँझ दुर्घटनामा परेको छ । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज १ झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो ।

राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताउनुभयो । राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो ।

छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गत मङ्सिर ८ गते फेला परेको थियो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com