गठबन्धन दलहरु आगामी सबै निर्वाचनमा मिलेर जान्छौँ : माधव नेपाल


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।

नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी ९केन्द्र० पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गर्नुभयो ।

“आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ”, उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।”

सो कार्यक्रममा उहाँले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर ९सुमन० लामा लगायतलाई पार्टी प्रवेश गराउनुभएको थियो ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com