पहिलो डोज कोभिशिल्ड लगाएकालाई दोश्रो डोज फरक भ्याक्सिन लगाउन जर्मनीको सशक्त सुझाव
पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज फरक भ्याक्सिन लगाउन जर्मनीले सशक्त सुझाव दिएको छ । बिहिबार जर्मनीको भ्याक्सिनबारेको स्थायी कमिटिले पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्ड लगाएकाहरुलाई जुनसुकै उमेर समुहका भएपनि दोश्रो डोज एमआरएनए भ्याक्सिन लगाउन सुझाव दिएको हो ।
पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज एमआरएनए प्रविधिबाट बनेको फाइजर वा मोडेर्ना भ्याक्सिन लगाउन सशक्त सुझाव दिनेमा जर्मनी विश्वकै पहिलोमध्येको देश भएको छ । जर्मन चान्सलरले पनि पहिलो डोज आष्ट्राजेनेका भ्याक्सिन लगाएकी थिइन् भने दोश्रो डोज मोडेर्ना भ्याक्सिन लगाएकी थिइन् ।
जर्मनीको भ्याक्सिनबारेको स्थायी कमिटिले फरक फरक भ्याक्सिनका डोजहरु मिसाएर लगाउँदा त्यसबाट सिर्जित इम्युन रेस्पोन्स सर्वोच्च रहेको बताएको छ । यसअगाडि क्यानडाको भ्याक्सिनबारेको राष्ट्रिय सल्लाहकार समितिले पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज एमआरएनए भ्याक्सिन लगाउन सामान्य सिफारिस गरेको थियो ।

नेपालमा लाखौं व्यक्तिले कोभिशिल्डको पहिलो डोज लगाएर दोश्रो डोजको प्रतिक्षा गरिरहेका छन् । तर दोश्रो डोज कोभिशिल्ड नै प्राप्त हुने सम्भावना तत्कालका लागि नदेखिएको सन्दर्भमा दोश्रो डोज फरक भ्याक्सिन लगाउन हुने वा नहुनेबारे अन्यौल रहेको छ । नेपालमा मार्चको ७ देखि १५ भित्र कोभिशिल्ड भ्याक्सिन लगाएका झण्डै १४ लाखले दोश्रो डोज लगाउन पाएका छैनन् ।
क्यानडाको सल्लाहकार समितिले पनि पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्डसँग दोश्रो डोज एमआरएनए भ्याक्सिन लगाउँदा राम्रो इम्युन रेस्पोन्स प्राप्त भएको भन्दै त्यस्तो सिफारिस गरेको थियो । गत जुन २८ मा प्रकाशित अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुको एउटा रिपोर्टमा पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्डसँग दोश्रो डोज फाइजर भ्याक्सिन लगाउँदा मजबूत इम्युन रेस्पोन्स उत्पन्न भएको निष्कर्ष निकालको थियो । यो शोधमा पहिलो डोज फाइजर र दोश्रो डोज आष्ट्राजेनेका तथा पहिलो डोज आष्ट्राजेनेका र दोश्रो डोज फाइजरको अध्ययन गरिएको थियो ।
चीनले नेपाललाई प्रदान गरेको भेरोसेल भ्याक्सिन भने एमआरएनए प्रविधिबाट बनेको भ्याक्सिन होइन । त्यसैले पहिले कोभिशिल्ड लगाएकाहरुले दोश्रो डोज यो भ्याक्सिन लगाउन हुने नहुनेबारे कुनै अध्ययन भएको छैन । भेरोसेल भ्याक्सिन कमजोर वा निस्कृय पारिएको भाइरसको प्रयोगबाट बनाइएको भ्याक्सिन हो । यो प्रविधिबाट भ्याक्सिन बनाउँदा भाइरसलाई कमजोर बनाइएको हुन्छ, जसका कारण उक्त भाइरस रोगको कारण बन्दैन तर इम्युन प्रणालीको प्रतिरक्षामा भने काम गर्छ ।
भ्याक्सिनको मिश्रणबारे कस्ता अध्ययन भइरहेका छन् ?
पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा स्वास्थ्य सुरक्षाबारे प्रश्नहरु उठाइएको छ । अमेरिकाका नियामकहरु यस्तो अभ्यासलाई प्रोत्साहन गर्न अनिच्छुक देखिएका छन् । तर वैज्ञानिकहरु र स्वास्थ्यविदहरुले भने पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा उल्लेख्य फाइदा हुनसक्ने सम्भावनाकाबारेमा रुची देखाएका छन् । वैज्ञानिक र शोधकर्ताहरुले फरक फरक प्रकारका भ्याक्सिन मिसाउने अभ्यास इबोला लगायतका अन्य रोगका सन्दर्भमा पनि यस अगाडि गरेका थिए ।

फरक फरक भ्याक्सिनका डोजहरुबारे कैयन क्लीनिकल परीक्षणहरु समेत भइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले आष्ट्राजेनेका, फाइजर, मोडेर्ना र नोभाभ्याक्स लगाएका भ्याक्सिनका डोजहरु मिश्रणबारे कमकोभ ट्रायल नामको परीक्षण गरिरहेका छन् । त्यस्तै अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले पनि यसबारे अध्ययन गरिरहेको छ ।
रसियन शोधकर्ताहरुले पनि एउटा डोज स्पुत्निक भी र अर्को डोज अष्ट्राजेनेका लगाउँदा पर्ने प्रभावबारे अध्ययन गरिरहेका छन् । यद्यपी स्पुत्निक भी आफैमा मिश्रण खालको भ्याक्सिन हो । यसको पहिलो डोज र दोश्रो डोज फरक फरक फर्मुलाबाट बनाइएको छ । अधिकांश अध्ययनहरु प्रारम्भिक चरणमा रहेका छन् भने कतिपय अध्ययनहरुले आशाजनक प्रारम्भिक परिणामहरु सार्वजनिक गरेका छन् ।
स्पानिस शोधकर्ताहरुले गरेको घोषणामा एउटा डोज आष्ट्राजेनेका र अर्को डोज फाइजरको भ्याक्सिन लगाएकाहरुमा कोरोनाबिरुद्ध मजुबत प्रतिरक्षाको विकाश भएको उल्लेख छ । दुबै डोज आष्ट्राजेनेका भ्याक्सिन लगाएकाहरुका तुलनामा मिश्रण डोज लगाएकाहरुमा अझ राम्रो प्रतिरक्षा प्रणाली विकाश भएको अध्ययनको निष्कर्ष रहेको छ । तर दुबै डोज फाइजरका भ्याक्सिन लगाएका तुलनामा मिश्रण लगाउँदा विकाश भएको प्रतिरक्षा प्रणाली अझ राम्रो भए नभएको स्पष्ट छैन ।
कुन कुन देशले दिए फरक फरक प्रकारका भ्याक्सिन लगाउन अनुमति ?
बेलायतमा सुरुकै चरणमा फरक फरक भ्याक्सिनका दुईडोज मिसाउन मिल्ने अनुमति दिएको थियो । त्यस्तै जर्मनी, क्यानडा, स्वीडेन, फ्रान्स, स्पेन, इटलीले पहिलो डोज आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै ब्राण्डको भ्याक्सिन लगाउन स्वीकृति दिएका छन् । आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिएका विवरणहरु आएपछि यी देशहरुले पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुलाई दोश्रो डोज अर्कै भ्याक्सिन लगाउन अनुमति दिएका हुन् ।
त्यस्तै आष्ट्राजेनेका भ्याक्सिनको दोश्रो डोज आउन ढिलो भएपछि दक्षिण कोरियाले पनि गत साता पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुले दोश्रो डोज फाइजर भ्याक्सिन लगाउनसक्ने घोषणा गरेको छ । क्यानडाको भ्याक्सिन सल्लाहकार प्यानलले एउटा डोज फाइजर र अर्को डोज मोडेर्ना भ्याक्सिन लगाउन सकिने बताएको छ ।
तर यो मामलामा अमेरिकाको खाद्य तथा औषधी विभाग एफडीए भने केही रुढीवादी देखिएको छ । मोडेर्ना वा फाइजरको पहिलो डोज लगाएकाहरुले कुनै असाधारण अवस्थाका कारण पहिलो डोज लगाएको भ्याक्सिन उपलब्ध नभएको खण्डमा फरक ब्राण्डको दोश्रो डोज लगाउनसक्ने एफडीएले बताएको छ । अमेरिकाको एफडीएले क्लीनिकल परीक्षणका तथ्यांकहरु राम्रोसँग मूल्यांकन नगरीकनै भ्याक्सिन मिश्रणका लागि अनुमति दिने तत्काल सम्भावना देखिएको छैन ।
त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि भ्याक्सिनहरु मिश्रण गरेर लगाउन स्वीकृति दिएको छैन । चाइनिज भ्याक्सिन भेरोसेल र बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका मिश्रण गरेर लगाउन विश्व स्वास्थ्य संगठनले स्वीकृति प्रदान गरेको भन्दै आएका समाचारहरुलाई पनि विश्व स्वास्थ्य संगठनले खण्डन गरेको छ ।





