नेपाललाई भ्याक्सिन पठाउनेबारे अमेरिकी विदेश मन्त्रालय: ‘जटिल परिचालन चुनौती’
सोमबार अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज भ्याक्सिन पठाएको छ भने पेरुलाई पनि २० लाख डोज भ्याक्सिन पठाएको छ । तर नेपाललाई पठाउने भनेको भ्याक्सिन भने अमेरिकाले अझै पठाएको छैन । जुन को पहिलो साता २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले जुनको तेश्रो साथा बाँकी ५५ मिलियन डोजबाट पनि नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो ।
अमेरिकाले विश्वका विभिन्न देशलाई पहिलो चरणमा दिने प्रतिवद्धता जनाएको ८० मिलियन डोज भ्याक्सिन जुनको अन्तिमसम्म छुट्याउने घोषणा गरेको थियो । तर नेपालले अमेरिकाबाट भ्याक्सिन प्राप्त गर्न जुलाईसम्म कुनुपर्ने अवस्था देखिएको छ । नेपालले अमेरिकाबाट कहिले र कति भ्याक्सिन पाउनेछ ? यसबारे खसोखासले अमेरिकी विदेशमन्त्रालय समक्ष जिज्ञासा राखेको थियो ।
विदेश मन्त्रालयका प्रवक्ताले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाले आगामी केहीसाताभित्रै नेपाललाई भ्याक्सिन पठाउनेछ । तर कति डोज भ्याक्सिन उपलब्ध गराउने भन्नेबारे केही खुलाएको छैन । विदेश मन्त्रालयका प्रवक्ताले भने – ‘नियामक आवश्यकताहरु र लजिस्टिक विवरणहरुमार्फत सुरक्षित तरिकाले भ्याक्सिनका डोजहरुको स्थानान्तरण सुनिश्चित गर्न कोभ्याक्स र सम्बन्धिन देशसँगको समन्वयमा आगामी साताहरुमा भ्याक्सिन पठाउन प्रशासनले सकेसम्म चाँडो कदम चाल्नेछ ।’

नेपालमा सुरक्षित तरिकाले भ्याक्सिन पठाउनका लागि काम गरिरहेको तर्फ अमेरिकी विदेश मन्त्रालयले संकेत गरेको छ । भ्याक्सिन पठाउने काममा जटिल परिचालन चुनौती रहेको प्रवक्ताको भनाई छ । मेडिकल एजेन्सीहरुले सुरक्षा र नियामक सुचनाहरु शेयर भएको सुनिश्चित गर्न समन्वय गरिरहेको, आपूर्ति टिमले निडल, सिरिन्ज र अल्कोहोल प्याडहरु जुटाइरहेको प्रवक्ताले जानकारी दिएका छन् ।
प्रवक्ताका अनुशार ट्रान्सपोर्टेशन टिमले उचित तापक्रममा भण्डारणको व्यवस्था सुनिश्चित गर्ने, विच्छेद हुन नदिने कुरा सुनिश्चित गर्ने र भ्याक्सिन सम्बन्धित देशमा पुगिसकेपछि भन्सारमा कुनै समस्या नहुने सुनिश्चित गर्नका लागि काम गरिरहेको छ । भ्याक्सिनका डोजहरु सम्बन्धित कानून बमोजिम वितरण गरिने सुनिश्चित गर्न कानूनी सम्झौतासमेत आवश्यक पर्ने र त्यसका लागि काम भइरहेको प्रवक्ताको भनाई छ ।
प्रवक्ताले भनेका छन् – ‘यो भ्याक्सिन सहायता त केबल सुरुवातमात्र हो । अमेरिकालाई प्राप्त हुने बित्तिकै हामीले अतिरिक्त भ्याक्सिन सहायता जारी राख्नेछौं । समरभर हामीले भ्याक्सिनका ५ सय मिलियन डोजहरु कोभ्याक्समार्फत विश्वका विभिन्न देशलाई वितरण गर्न गाभीलाई प्रदान गर्नेछौं ।’





