२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

के पहिले एकथरी भ्याक्सिन लगाएकाहरुले दोश्रो डोज अर्कै भ्याक्सिन लगाउन मिल्छ ?

पहिले डोज एकथरी र दोश्रो डोज अर्कैथरी कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुको संख्या बढ्दो रहेको छ । कतिपय देशहरुले पहिलो डोज एउटा प्रकारको र दोश्रो डोज अर्कै प्रकारको गरी दुईप्रकारका भ्याक्सिन मिश्रण गरेर लगाउन अनुमति दिइसकेका छन् । यद्यपी अहिले प्रयोगमा रहेका भ्याक्सिनहरु दुबै डोज एउटै प्रकारका लगाउनका लागि तय गरिएको हो ।

केही देशहरुले भ्याक्सिनहरु मिश्रण गरेर लगाउन अनुमति दिइरहँदा कतिपय देशहरुले मिश्रण गरेर लगाउन प्रोत्साहन समेत गरिरहेका छन् । कतिपय देशहरुले पहिले प्रदान गरिएको पहिलो डोज भ्याक्सिनको प्रकार उपलब्ध नभएका कारण दोश्रो डोज भ्याक्सिन अर्को प्रकारको लगाउने दृष्टिकोण अपनाएका छन् ।

नेपालमा समेत पहिलो डोज कोभिशिल्ड लगाएका लाखौंले दोश्रो डोज लगाउन पाएका छैनन् । दोश्रो डोज लगाउनका लागि कोभिशिल्ड उपलब्ध छैन भने दोश्रो डोज लगाउनुपर्ने समय पनि गुज्रदै गएको छ । यो अवस्थामा नेपालमा चाइनिज भ्याक्सिनको वितरण त भइरहेको छ तर पहिले कोभिशिल्ड लगाएकाहरुलाई दोश्रो डोज चाइनिज भ्याक्सिन दिने अभ्यास भने सुरुवात गरिएको छैन । नेपालमा मार्चको ७ देखि १५ भित्र कोभिशिल्ड भ्याक्सिन लगाएका झण्डै १४ लाखले दोश्रो डोज लगाउन पाएका छैनन् ।

जर्मन चान्सलरले लगाइन् दुईथरी भ्याक्सिन

मंगलबारमात्रै जर्मनीको सरकारले चान्सलर एन्जेला मर्केलले फरक फरक भ्याक्सिनका दुई डोज लगाएको खुलासा गरेको छ । युरोपका कैयन देशहरुले गत मार्चमा रगत जम्ने समस्याका कारण आष्ट्राजेनेका भ्याक्सिन वितरण स्थगित गरेका थिए । पछि युरोपियन युनियनको नियामकले पुनरावलोकन गरेपछि जर्मनी लगायतका देशहरुले आष्ट्राजेनेका भ्याक्सिन वितरण सुचारु गरेका थिए ।

मर्केलले अफ्रिलमा कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएकी थिइन् । जर्मनीको भ्याक्सिन आयोगले अप्रिलमा पहिलो डोज आष्ट्राजेनेका लगाएका ६० बर्षभन्दा कम उमेरकाहरुलाई दोश्रो डोज फाइजर वा मोडेर्ना लगाउन सिफारिस गरेको थियो । यसैमहिना उक्त प्रावधानलाई खुकुलो बनाइसकिएको छ । तर ६६ बर्षकी मर्केलले केहीदिन अगाडि दोश्रो डोज मोडेर्ना भ्याक्सिन लिएकी हुन् ।

भ्याक्सिनको मिश्रणबारे कस्ता अध्ययन भइरहेका छन् ?

पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा स्वास्थ्य सुरक्षाबारे प्रश्नहरु उठाइएको छ । अमेरिकाका नियामकहरु यस्तो अभ्यासलाई प्रोत्साहन गर्न अनिच्छुक देखिएका छन् । तर वैज्ञानिकहरु र स्वास्थ्यविदहरुले भने पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा उल्लेख्य फाइदा हुनसक्ने सम्भावनाकाबारेमा रुची देखाएका छन् । वैज्ञानिक र शोधकर्ताहरुले फरक फरक प्रकारका भ्याक्सिन मिसाउने अभ्यास इबोला लगायतका अन्य रोगका सन्दर्भमा पनि यस अगाडि गरेका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

फरक फरक भ्याक्सिनका डोजहरुबारे कैयन क्लीनिकल परीक्षणहरु समेत भइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले आष्ट्राजेनेका, फाइजर, मोडेर्ना र नोभाभ्याक्स लगाएका भ्याक्सिनका डोजहरु मिश्रणबारे कमकोभ ट्रायल नामको परीक्षण गरिरहेका छन् । त्यस्तै अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले पनि यसबारे अध्ययन गरिरहेको छ ।

रसियन शोधकर्ताहरुले पनि एउटा डोज स्पुत्निक भी र अर्को डोज अष्ट्राजेनेका लगाउँदा पर्ने प्रभावबारे अध्ययन गरिरहेका छन् । यद्यपी स्पुत्निक भी आफैमा मिश्रण खालको भ्याक्सिन हो । यसको पहिलो डोज र दोश्रो डोज फरक फरक फर्मुलाबाट बनाइएको छ । अधिकांश अध्ययनहरु प्रारम्भिक चरणमा रहेका छन् भने कतिपय अध्ययनहरुले आशाजनक प्रारम्भिक परिणामहरु सार्वजनिक गरेका छन् ।

के फरक फरक प्रकारका भ्याक्सिन लगाउनु सुरक्षित छ ?

स्पानिस शोधकर्ताहरुले गरेको घोषणामा एउटा डोज आष्ट्राजेनेका र अर्को डोज फाइजरको भ्याक्सिन लगाएकाहरुमा कोरोनाबिरुद्ध मजुबत प्रतिरक्षाको विकाश भएको उल्लेख छ । दुबै डोज आष्ट्राजेनेका भ्याक्सिन लगाएकाहरुका तुलनामा मिश्रण डोज लगाएकाहरुमा अझ राम्रो प्रतिरक्षा प्रणाली विकाश भएको अध्ययनको निष्कर्ष रहेको छ । तर दुबै डोज फाइजरका भ्याक्सिन लगाएका तुलनामा मिश्रण लगाउँदा विकाश भएको प्रतिरक्षा प्रणाली अझ राम्रो भए नभएको स्पष्ट छैन ।

बेलायतमा गरिएको कमभोभ परीक्षणको प्रारम्भिक तथ्यांकले दुई प्रकारका फरक फरक डोज भ्याक्सिन लगाउँदा साइड इफेक्ट तुलनात्मक रुपमा बढी हुनसक्ने देखाएको छ । ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने जस्ता साइड इफेक्ट केही बढी देखिएपनि साइड इफेक्टका कारण अस्पताल भर्ना हुने अवस्था भने मिश्रण डोज लगाउने कसैको आएको छैन ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

तर साइड इफेक्ट बलियो प्रतिरक्षा रेस्पोन्सका कारण भएको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अधिकांश साइड इफेक्टहरु ४८ घण्टाभित्र हराएका थिए । समग्रमा वैज्ञानिकहरुले दुई प्रकारका भ्याक्सिनका फरक फरक डोज लगाउँदा सुरक्षित हुने तथ्यांकको अपेक्षा गरेको जनाएको छन् ।

कुन कुन देशले दिए फरक फरक प्रकारका भ्याक्सिन लगाउन अनुमति ?

बेलायतमा सुरुकै चरणमा फरक फरक भ्याक्सिनका दुईडोज मिसाउन मिल्ने अनुमति दिएको थियो । त्यस्तै जर्मनी, क्यानडा, स्वीडेन, फ्रान्स, स्पेन, इटलीले पहिलो डोज आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै ब्राण्डको भ्याक्सिन लगाउन स्वीकृति दिएका छन् । आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिएका विवरणहरु आएपछि यी देशहरुले पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुलाई दोश्रो डोज अर्कै भ्याक्सिन लगाउन अनुमति दिएका हुन् ।

त्यस्तै आष्ट्राजेनेका भ्याक्सिनको दोश्रो डोज आउन ढिलो भएपछि दक्षिण कोरियाले पनि गत साता पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुले दोश्रो डोज फाइजर भ्याक्सिन लगाउनसक्ने घोषणा गरेको छ । क्यानडाको भ्याक्सिन सल्लाहकार प्यानलले एउटा डोज फाइजर र अर्को डोज मोडेर्ना भ्याक्सिन लगाउन सकिने बताएको छ ।

तर यो मामलामा अमेरिकाको खाद्य तथा औषधी विभाग एफडीए भने केही रुढीवादी देखिएको छ । मोडेर्ना वा फाइजरको पहिलो डोज लगाएकाहरुले कुनै असाधारण अवस्थाका कारण पहिलो डोज लगाएको भ्याक्सिन उपलब्ध नभएको खण्डमा फरक ब्राण्डको दोश्रो डोज लगाउनसक्ने एफडीएले बताएको छ । अमेरिकाको एफडीएले क्लीनिकल परीक्षणका तथ्यांकहरु राम्रोसँग मूल्यांकन नगरीकनै भ्याक्सिन मिश्रणका लागि अनुमति दिने तत्काल सम्भावना देखिएको छैन ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि भ्याक्सिनहरु मिश्रण गरेर लगाउन स्वीकृति दिएको छैन । चाइनिज भ्याक्सिन भेरोसेल र बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका मिश्रण गरेर लगाउन विश्व स्वास्थ्य संगठनले स्वीकृति प्रदान गरेको भन्दै आएका समाचारहरुलाई पनि विश्व स्वास्थ्य संगठनले खण्डन गरेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →