कोभिशिल्डको पहिलो डोज लगाएको ४ महिना हुन लाग्यो, दोश्रो डोज लगाउन मिल्छ ?
नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
नेपालमा कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज लगाउन पाएका छैनन् । कतिपयका सन्दर्भमा कोभिशिल्डको पहिलो डोज लगाएको १२ हप्ता नाघिसकेको छ । यो अवस्थामा अर्को डोज अब लगाउन हुने वा नहुने तथा नलगाएको खण्डमा पहिलो डोजको प्रभावकारिता कतिसमय रहने भन्नेमा आम जिज्ञासा रहेको छ ।
नेपालमा वितरण गरिएको कोभिशिल्ड भ्याक्सिन बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका भ्याक्सिनको भारतीय उत्पादन हो । यो भ्याक्सिन पहिलो डोज लगाएको ४ देखि ६ हप्ताभित्र दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो । तर अहिले यो भ्याक्सिन १६ हप्तासम्मको फरकमा दोश्रो डोज लगाउँदा समेत प्रभावकारी पाइएको छ ।
दोश्रो डोज लगाउन ढिलो हुँदैमा त्यसले पहिलो डोजको प्रभावकारिता कम नहुने विज्ञहरुले बताएका छन् । पहिलो डोज लगाएका तर दोश्रो डोज लगाएकाहरुलाई चिन्तित नहुन खोप विशेषज्ञ डाक्टर एनके अरोराले सुझाप दिएका छन् । भ्याक्सिन नै नलगाएकाहरुको तुलनामा एकडोज भ्याक्सिन लगाएकाहरुलाई कोरोनाबिरुद्ध उल्लेख्य संरक्षण प्राप्त हुने पुष्टी भएको छ ।
पहिलो डोज भ्याक्सिनले पहिले नै इम्युन रेस्पोन्समा ट्रिगर गर्ने भएकाले दोश्रो डोज लगाउन ढिलो हुँदैमा उक्त इम्युन रेस्पोन्स नहराउने इम्युनोलोजिष्ट डाक्टर डाक्टर विनिता बालले बताइन् । तर एकडोज लगाउँदैमा यसबाट प्राप्त हुने पूर्ण संरक्षण प्राप्त नहुने भएको पूरै डोज आवश्यक हुने उनले बताइन् । दोश्रो डोज भ्याक्सिनले पहिलो डोजबाट निर्मित इम्युनको परिणाम र गुणस्तरमा बृद्धि गर्ने उनले बताइन् ।

पहिलो डोज भ्याक्सिनले बनाएको इम्युन रेस्पोन्स ४ देखि ५ महिनापछि नष्टहुँदै जानसक्ने विज्ञहरुको भनाई छ । कोभिशिल्ड भ्याक्सिनको दुईडोजबीचको अन्तर अन्तर्राष्ट्रिय परीक्षणको तथ्यांक अनुशार ४ हप्ताबाट १२ हप्तासम्म बनाइएको हो । परीक्षणका क्रममा दोश्रो डोज १२ हप्तापछि दिंदा पनि भ्याक्सिनको प्रभावकारिता उल्लेख्य देखिएको थियो ।
बेलायतमा कोभिशिल्ड भ्याक्सिन पहिलो डोज लगाएको १२ हप्तापछि दोश्रो डोज लगाउन सिफारिस गरिएको छ भने क्यानडाका कतिपय स्थानमा पहिलो डोज लगाएको १६ हप्तापछि दोश्रो डोज सिफारिस गरिएको छ । कोभिशिल्डको पहिलो डोज लगाएपछि बेलायतमा पहिलोपटक देखिएको भेरियन्टबिरुद्ध लक्षणसहितको कोरोना संक्रमण हुनबाट ६५ प्रतिशत संरक्षण प्रदान गरेको पाइएको छ । त्यस्तै पहिलो डोज लगाएपछि सिकिस्त हुनबाट रोक्न ८० प्रतिशत प्रभावकारी पाइएको छ ।
पहिलो डोज लगाएपछि व्यक्तिलाई कोरोना संक्रमण भएर निको भएको खण्डमा समेत दोश्रो डोज भने नछुटाउन विज्ञहरुले सुझाव दिएका छन् । तर पहिलो डोज लगाएपछि उपलब्ध भएसम्म दोश्रो डोज लगाउँदा धेरै समयको अन्तर नराख्न विज्ञहरुले सुझाव दिएका छन् । क्यानडाको कतिपय प्रान्तमा १६ हप्ताको अन्तरलाई घटाएर १२ देखि १४ हप्तासमेत बनाइएको छ ।





