बाइडेनको प्रतिबद्धता अनुशार ताइवानले अमेरिकाबाट पायो २५ लाख डोज भ्याक्सिन


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको पहिलोसाता गरेको प्रतिबद्धता अनुशार ताइवानले २५ लाख डोज कोरोनाबिरुद्ध भ्याक्सिन अमेरिकाबाट प्राप्त गरेको छ । बाइडेनले २५ मिलियन डोज भ्याक्सिन विश्वका विभिन्न देशलाई तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप ताइवानले मोडेर्ना भ्याक्सिन प्राप्त गरेको हो ।

ताइवानलाई चीनले भ्याक्सिन आपूर्ति रोक्न गरेको प्रयासको पनि अमेरिकाले निन्दा गरेको छ । अमेरिकाले ताइवानलाई कुनै राजनीतिक स्वार्थविना नै भ्याक्सिन सहयोग गरेको स्पष्ट पारेको छ । शनिबार विहान अमेरिकाबाट ती भ्याक्सिनका डोजहरु ताइवानतर्फ पठाइएको हो ।

महामारी सुरुभएदेखि नै महामारीबिरुद्धको लडाईमा ताइवान अमेरिकाको सहयोगी रहदै आएको छ । ताइवानले अमेरिकालाई पीपीई लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । अमेरिकाले पहिले ताइवानलाई साढे ७ लाख भ्याक्सिन उपलब्ध गराउने बताएपनि त्यसमा उल्लेख्य बृद्धि गरेर २५ लाख बनाएको हो ।

अमेरिकाले जुनको पहिलो साता नेपालसहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेपनि नेपालले भने अझै उक्त भ्याक्सिन पाएको छैन ।
यो भ्याक्सिन अमेरिकाले नेपालमा कहिले पठाउने र कति पठाउने भन्ने सन्दर्भ अझै स्पष्ट छैन । अमेरिकाले नेपाललाई कति डोज भ्याक्सिन र कुन भ्याक्सिन दिने भन्ने फ्रेमवर्कमा उल्लेख गरेको थिएन ।

जुनको अन्तिमसम्ममा ८० मिलियन डोज भ्याक्सिन विश्वमा वितरण गर्ने राष्ट्रपतिको योजना अनुरुप आगामी साताहरुमा २५ मिलियन भ्याक्सिनहरु सम्बन्धित देशहरुमा पुराइने बताइएपनि अहिलेसम्म नेपालले उक्त भ्याक्सिन प्राप्त गर्न नसकेको हो । दक्षिण कोरिया, ताइवान लगायतका केही देशका लागि भने अमेरिकाले भ्याक्सिन पठाइसकेको छ ।

नेपालमा आष्ट्राजेनेका अन्तरगतको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज लगाउन पाएका छैनन् । भ्याक्सिन वितरणमा अनियमितता भइरहेका खबरहरु आएका छन् भने अब दोश्रो डोज पाउने आशामा रहेकाहरुले समेत आशामार्न थालेका छन् ।

अमेरिकाले नेपाललाई तत्काल प्रदान भनिएको भ्याक्सिनमा पनि आष्ट्राजेनेका अन्तरगतको भ्याक्सिन छैन । ६० मिलियन आष्ट्राजेनेका डोजहरुले एफडीएको सहमति कुरिरहेकाले अहिले विश्वका विभिन्न देशमा प्रदान गरिने २५ मिलियन डोजहरु अमेरिकामा स्वीकृत जोन्सन एण्ड जोन्सन, फाइजर र मोडेर्नाबाटै उपलब्ध गराइने अमेरिकाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com