कोरोनाबिरुद्ध नयाँ अमेरिकन भ्याक्सिन नोभाभ्याक्स सिकिस्त हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी


प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार

अमेरिकाको मेरिल्याण्डको बायोटेक कम्पनी नोभाभ्याक्सबाट उत्पादित कोरोनाबिरुद्धको भ्याक्सिन सिकिस्त र ठीक्कको बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी देखिएको छ । भ्याक्सिनको तेश्रो चरणको परीक्षणका क्रममा भ्याक्सिन उच्च प्रभावकारी देखिएको हो ।

अमेरिका र मेक्सिकोमा तेश्रो चरणको परीक्षण गरिएको थियो भने भ्याक्सिन सुरक्षित प्रमाणित भएको छ । अमेरिकामा गरिएको परीक्षणको नतिजा अमेरिकामा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिन आवश्यक हुनेछ ।

तेश्रो क्वार्टरमा प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो भ्याक्सिनले प्रयोगको स्वीकृति पाएमा अमेरिकामा प्रयोगको स्वीकृति पाउने यो चौथो भ्याक्सिन हुनेछ ।

यसअगाडि अमेरिकन भ्याक्सिन मोडेर्ना र अमेरिकन कम्पनीले जर्मन कम्पनीसँग मिलेर बनाएको फाइजर भ्याक्सिन अमेरिकामा प्रयोगका छन् । त्यस्तै बेल्जियन कम्पनीबाट उत्पादित जोन्सन एण्ड जोन्सन पनि अमेरिकामा प्रयोगमा रहेको छ ।

नोभाभ्याक्स भ्याक्सिन २१ दिनको अन्तरालमा २ वटा डोज दिनुपर्छ । यो भ्याक्सिन अमेरिका र मेक्सिकोका झण्डै ३० हजारमा परीक्षण गरिएको थियो । भ्याक्सिनको परीक्षणमा अल्पसंख्यकहरुलाई पनि सहभागी गराइएको छ । त्यस्तै कोरोनाको उच्च जोखिममा रहेको जनसंख्यालाई पनि परीक्षणमा सहभागी गराइएको छ ।

समग्रमा कोरोनाबिरुद्ध यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको पाइएको छ । परीक्षणमा सहभागी ७७ जनामा संक्रमण पाइएकोमा उक्त संक्रमण सामान्य रहेको थियो । बेलायतमा पहिलोपटक देखिएको कोरोनाको प्रकारबिरुद्ध भ्याक्सिन ९३ प्रतिशत प्रभावकारी पाइएको छ भने भारत, दक्षिण अफ्रिका र ब्राजिलमा पहिलोपटक देखिएको प्रकारपनि परीक्षणका क्रममा देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com