अमेरिकामा ६० मिलियन डोज कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन प्रयोगका लागि अनुचित


प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार

अमेरिकामा ६० मिलियन डोज कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन खेर गएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले समस्याग्रस्त बायोसोलुसन प्लान्टमा बनाइएका ती भ्याक्सिनहरु प्रयोगका लागि उपयुक्त नभएको ठहर गरेको हो ।

एफडीएले सुरक्षा पुनरावलोकन गर्दै १० मिलियन डोज भ्याक्सिन भने प्रयोग गर्न मिल्ने ठहर गरेको छ । थप कैयन ब्याचहरु प्रयोगका लागि उचित नभएको र केही ब्याचहरुको पुनरावलोनक भइरहेको एफडीएले जनाएको छ ।

यसअगाडि १५ मिलियन डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन आष्ट्राजेनेकासँग मिसिएपछि प्रयोगका लागि उचित नभएको भन्दै नष्ट गरिएको थियो । अहिले प्रयोगका लागि उचित नभएको ठहर गरिएका ६० मिलियन डोज पनि त्योभन्दा अगाडि र पछाडि उत्पादन गरिएका भ्याक्सिन भएको जनाइएको छ ।

प्रयोगका लागि उचित ठहराइएका १० मिलियन डोज भ्याक्सिन विदेशमा डोनेशन स्वरुप पठाइने अपेक्षा गरिएको छ । उक्त प्लान्टमा बनाइएका करोडौं डोज भ्याक्सिन अहिलेपनि पुनरावलोकनका क्रममा छन् भने अमेरिकाले उक्त प्लान्टलाई थप भ्याक्सिन बनाउनका लागि अनुमति दिएको छैन ।

युरोपको औषधी नियामकले अमेरिकामा प्रयोगको लागि उचित नभएको ठहर गरिएका भ्याक्सिनका डोज उत्पादन गरिएको समयमा युरोपका लागि बनाइएका जोन्सन एण्ड जोन्सनका डोजहरु तत्कालका लागि प्रयोग नगरिने घोषणा गरेका छन् । दक्षिण अफ्रिकाको जोन्सन एण्ड जोन्सन भ्याक्सिनका सन्दर्भमा काम गरिरहेको एस्पान फार्माकेयरले पनि जोन्सन एण्ड जोन्सनका ती डोजहरु नष्ट गर्ने वा प्रयोग गर्ने भन्नेबारे अनुमति कुरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com