१२ बर्षमाथिकालाई मोडेर्ना लगाउन अमेरिकामा आवेदन, लक्षणसहितको संक्रमण रोक्न १००% प्रभावकारी


प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार

१२ बर्षदेखि १७ बर्षसम्मका बालबालिकाहरुमा सुरक्षित र उच्च प्रभावकारी देखिएपछि कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनले पनि यो उमेर समुहमा प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिएको छ । यो भ्याक्सिन अहिले अमेरिकामा १८ बर्षमाथिकाहरुलाई पनि लगाउन अनुमति छ ।

यदि १२ बर्षदेखि माथिकाहरुमा प्रयोगको स्वीकृति पाएमा यो भ्याक्सिन उक्त उमेर समुहमा लगाइने अमेरिकामा दोश्रो भ्याक्सिन हुनेछ । अमेरिकामा अहिले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन १२ बर्षदेखि माथिका व्यक्तिलाई लगाउन स्वीकृत छ । गतमहिना यो भ्याक्सिनलाई १२ बर्षमाथिका व्यक्तिमा प्रयोगको अनुमति दिएपछि अमेरिकामा भ्याक्सिन लगाउने यो उमेर समुह पनि उल्लेख्य छ ।

मे २५ मा सार्वजनिक तथ्यांक अनुशार १२ बर्षदेखि १७ बर्षसम्मका व्यक्तिमा यो भ्याक्सिन कोरोनाको लक्षणसहितको संक्रमण रोक्न शतप्रतिशत प्रभावकारी रहेको पाइएको थियो । मोडेर्ना भ्याक्सिन ४ साताको फरकमा २ डोज लगाउनुपर्छ । यो भ्याक्सिन १२ बर्षदेखि १७ बर्षसम्मका ३७ सय जनामा परीक्षण गरिएको थियो । आधाभन्दा बढीलाई सलाइन दिइएको थियो भने आधालाई वास्तविक भ्याक्सिन दिइएको थियो ।

कम्पनीले १२ देखि १७ बर्षसम्मका उमेर समुहका व्यक्तिमा मोडेर्ना भ्याक्सिन लक्षणविनाको संक्रमण रोक्न ९३ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । परीक्षणका क्रममा १८ बर्षमाथिका व्यक्तिमा भने यो भ्याक्सिन लक्षणसहितको संक्रमण रोक्न ९५ प्रतिशशत प्रभावकारी देखिएको थियो भने वास्तविक भ्याक्सिन वितरणमा लक्षणसहितको संक्रमण रोक्न ९० प्रतिशत प्रभावकारी देखिएको सीडीसीले जनाएको छ ।

अमेरिकामा कुल जनसंख्याको झण्डै २० प्रतिशत बालबालिकाहरु रहेका छन् । कोरोनाबिरुद्ध हर्ड इम्युनिटीप्राप्त गर्न कुल जनसंख्याको ७० देखि ८५ प्रतिशतले भ्याक्सिन लगाउनुपर्ने विज्ञहरुको भनाई छ । यसर्थ अमेरिकामा हर्ड इम्युनिटी प्राप्त गर्नका लागि बालबालिकाहरुलाई भ्याक्सिन लगाउन अनिवार्य रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com