फाइजरपछि अमेरिकामा प्रयोगको पूर्ण स्वीकृतिका लागि कोरोना बिरुद्धको भ्याक्सिन मोडेर्नाको आवेदन
अहिलेसम्म आपतकालिन प्रयोगको अनुमति पाएको कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनले पनि अमेरिकामा अमेरिकामा प्रयोगको पूर्ण स्वीकृतिका लागि खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको छ । यो भ्याक्सिनलाई अमेरिकामा गत डिसेम्बरमा आपतकालिन प्रयोगका लागि अनुमति दिइएकोमा मंगलबार पूर्ण स्वीकृतिका लागि भ्याक्सिन कम्पनीले आवेदन दिएको हो ।
दुईमहिनाको तथ्यांकको आधारमा आपतकालिन प्रयोगको स्वीकृति दिइएपनि अहिले मोडेर्नाले ६ महिनाको तथ्यांकको आधारमा पूर्ण स्वीकृतिका लागि आवेदन दिएको हो । मोडेर्ना भ्याक्सिनका झण्डै १ सय मिलियन डोजहरु अमेरिकामा वितरण भइसकेको छ । पूर्ण स्वीकृतिका लागि भने एफडीएको प्रकृयाका लागि केही महिना लाग्नसक्ने जनाइएको छ ।

आगामी साताहरुमा मोडेर्नाले थप तथ्यांकहरु एफडीएलाई उपलब्ध गराउँदै जानेछ । एफडीएका वैज्ञानिकहरुले तथ्यांकहरु हेर्नुका साथै सुरक्षा सम्बन्धि अन्य सरोकारहरुको पनि मूल्यांकन गर्नेछन् । कम्पनीले सही तरिकाले तथ्यांकहरु उपलब्ध गराएको नगराएको बारे पनि एफडीएले जाँच गर्नेछ ।
पूर्ण प्रयोगको स्वीकृति पाइसकेपछि महामारी अन्त्य भए लगत्तै र स्वास्थ्य संकट सकिए लगत्तै भ्याक्सिन बजारमा बिक्रिका लागि आउनेछ । त्यसपछि कम्पनीले आफ्नो भ्याक्सिनको विज्ञापन टेलिभिजन र अन्य संचारमाध्यममा कहिलेदेखि गर्न पाउने भन्नेपनि निर्धारण हुनेछ । मोडेर्ना अमेरिकामा पूर्ण स्वीकृतिका लागि आवेदन दिने दोश्रो भ्याक्सिन हो ।

यसअगाडि मे ७ मा फाइजरले १६ बर्षमाथिकाहरुमा प्रयोगको पूर्ण स्वीकृतिका लागि एफडीएसमक्ष प्रकृयाको सुरुवात गरेको थियो । फाइजर अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण स्वीकृतिका लागि आवेदन दिने पहिलो भ्याक्सिन हो ।
स्वीकृति प्राप्त भएको खण्डमा १६ बर्षमाथिका व्यक्तिलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनका लागि फाइजरले पूर्ण छाप प्राप्त गर्नेछ ।





