नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा
नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा
चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफोन वार्ताका क्रममा नेपाललाई १० लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभएको छ ।सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो ।
During today’s phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ । राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।
आजै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।
नेकपा एमालेका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको हो ।

‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उहाँले भन्नुभयो– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’
खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपिल गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिनुभयो ।
उहाँले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका बिभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा पनि गर्नुभयो । कोरोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाईंले मात्र महामारी नियन्त्रण सम्भव रहेको उपप्रधानमन्त्री पोखरेलको विश्वास छ ।





