भारतमा भेटिएको कोरोनाको प्रकारबिरुद्ध फाइजर ८८% र आष्ट्रोजेनेका ६०% प्रभावकारी
भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको प्रकार बी वान ६१७ टु बिरुद्ध कोरोनाबिरुद्धका भ्याक्सिनहरु फाइजर र आष्ट्राजेनेका प्रभावकारी भएको नयाँ तथ्यांकले देखाएको छ । लक्षणसहितको संक्रमणबिरुद्ध भ्याक्सिन प्रभावकारी रहेको बेलायतको जनस्वास्थ्य सम्बन्धि तथ्यांकमा देखिएको हो ।
फाइजरको भ्याक्सिन भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको प्रकारबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ८८ प्रतिशत प्रभावकारी रहेको देखिएको छ । यो भ्याक्सिन साउथ इष्ट इंग्ल्याण्डको केन्टमा पहिलोपटक देखिएको भाइरसबिरुद्ध भने लक्षणसहितको संक्रमण रोक्न ९३ प्रतिशत प्रभावकारी देखिएको थियो ।

त्यस्तै आष्ट्राजेनेका भ्याक्सिनको दुबै डोजले कोरोनाको भारतमा पहिलोपटक भेटिएको प्रकारबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६० प्रतिशत प्रभावकारी रहेको तथ्यांकमा उल्लेख छ । आष्ट्राजेनेका भ्याक्सिन साउथ इष्ट इंग्ल्याण्डको केन्टमा पहिलोपटक देखिएको भाइरसबिरुद्ध भने लक्षणसहितको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।
यो तथ्यांकले जुन २१ पछि बेलायतको सरकारले लकडाउन अन्त्य गर्नसक्ने आशालाई बढाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोनाको प्रकारको तुलनामा भारतमा पहिलोपटक भेटिएको कोरोनाको प्रकार भ्याक्सिन इम्युनिटीमा हस्तक्षेप गर्न कम सक्षण देखिएको जनाइएको छ ।

नेपालमा लगाइएको एउटा खोप आष्ट्राजेनेका अन्तरगतकै कोभिशिल्ड हो । जुन भ्याक्सिन भारतमा पहिलोपटक देखिएको प्रकारबिरुद्ध ६० प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल पनि लगाइएको छ । यसले भारतमा पहिलोपटक देखिएको कोरोनाको प्रकारबिरुद्ध कति काम गर्छ भन्नेबारे तथ्यांक आइसकेको छैन ।
नेपालमा ३५ जना कोरोना संक्रमितहरुको नमुना परीक्षण गर्दा ९७ प्रतिशत अर्थात् ३४ जनामा भारतमा पहिलोपटक भेटिएको कोरोना संक्रमण भएको पुष्टी भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुशार सङ्कलन गरेर भारतको ल्याबमा परीक्षण गराइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो । यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले जनाएको छ ।





