अमेरिकामा स्वीकृत कोरोनाबिरुद्धका भ्याक्सिन इन्डियन भेरियन्टबिरुद्ध प्रभावकारी
अमेरिकामा स्वीकृत कोरोनाबिरुद्धका भ्याक्सिनहरुपनि कोरोनाको इन्डियन भेरियन्टबिरुद्ध प्रभावकारी रहेको अमेरिकाका बरिष्ठ सुरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले बताएका छन् । कोरोनाको बी वान ६१७ भेरियन्टले संक्रमणमा उच्च बृद्धि, अस्पताल भर्ना र मृत्यु भएको स्वास्थयविदहरुको विश्वास रहेको छ ।
कोरोनाको यो प्रकार युरोपभर संक्रमण बृद्धिका लागि समेत जिम्मेबार रहेको छ भने विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्ट अफ कन्र्सनका रुपमा बर्गिकृत गरेको छ । यो भेरियन्टबाट जनस्वास्थ्यमा उच्च नकारात्मक असर पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

ह्वाइट हाउस ब्रिफिङका क्रममा डाक्टर फाउचीले प्रारम्भिक अध्ययनका क्रममा अमेरिकामा स्वीकृत फाइजर र मोडेर्नाको भ्याक्सिन कोरोनाबिरुद्धको इन्डियन भेरियन्टबिरुद्ध प्रभावकारी रहेको र यसले सिकिस्त हुनबाट, अस्पताल भर्ना हुनबाट र ज्यान जानबाट बचाउने बताएका छन् । उनले भ्याक्सिन लगाउनैपर्ने अर्को बलियो कारण यो पनि रहेको भन्दै सबैलाई भ्याक्सिन लगाउन प्रोत्साहित गरेका छन् ।
अमेरिकामा अहिलेसम्म १५८ मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । त्यस्तै १८ बर्षमाथिको ५६ दशमलव ५ प्रतिशत जनसंख्याले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेको छ । अमेरिकामा १२४ मिलियनभन्दा धेरैले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म ५ लाख ८३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो केही दिनमा भने केही राज्यमा मृत्युदर शुन्यमा झरिसकेको छ । अहिले अमेरिकामा दैनिक मृत्युदर ५ सयको हाराहारीमा रहेको छ ।
यसैबीच बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भ्याक्सिन इन्डियन भेरियन्टबिरुद्ध प्रभावकारी भएको बताएका छन् । पूर्णरुपमा भ्याक्सिन लगाएका बढी उमेर समुहकाहरु इन्डियन भेरियन्टबिरुद्ध संरक्षित भएको पुष्टी भएको र भ्याक्सिन नलगाएकाहरु इन्डियन भेरियन्टको संक्रमणबाट अस्पताल भर्ना हुने अवस्था आएको बताएका छन् ।
बोल्टनको उत्तरपश्चीम टाउनमा बी वान ६१७ टु नामको भारतमा पहिलोपटक देखिएको इन्डियन भेरियन्ट २३३२ जनामा भेटिएको पुष्टी भएको र उनीहरु अधिकांश भ्याक्सिन नलगाएकाहरु रहेको बेलायती स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।





