एनआरएनए अमेरिकामा कोषाध्यक्ष पदमा उम्मेदबार राजीव श्रेष्ठका ५ प्रतिवद्धता


प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार

एनआरएनए अमेरिकामा कोषाध्यक्षका उम्मेदबार राजीव श्रेष्ठले आफू कोषाध्यक्षमा निर्वाचित भएमा पूरा गर्ने पाँच प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । मे महिनाको अन्तिमसाता एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा श्रेष्ठले उम्मेदबारी दर्ता गराएपछि प्रतिवद्धताहरु पनि सार्वजनिक गरेका हुन् ।

एनआरएनए अमेरिकाको विधान र अमेरिकामा दर्ता गैर नाफामुलक संस्थाको मापदण्डको परिधिभित्र रहेर जिम्मेबारी पूरा गर्ने उनको पहिलो प्रतिवद्धता रहेको छ । त्यस्तै एनआरएनए अमेरिकाका कार्यनीति र अवधारणालाई मूर्तरुप दिन र ठोस कार्यमा परिवर्तन गर्न आर्थिक विश्लेषण गरी प्राथमिकताका आधारमा श्रोत साधन जुटाई कार्यान्वयन गर्ने श्रेष्ठको दोश्रो प्रतिवद्धता रहेको छ ।

त्यस्तै अमेरिका र नेपालबीचको दोहोरो करप्रणाली हटाउन अमेरिकी सरकार, अमेरिकी संसद, नेपाल सरकार र एनआरएनए आईसीसीसँग समन्वयकारी भूमिकालाई प्राथमिकता दिने श्रेष्ठको तेश्रो प्रतिवद्धता रहेको छ । अर्थ नीतिमा आईसीसीसँग समन्वय गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा एनआरएनहरुलाई विशेष प्रावधान प्रदान गर्नका लागि पहल गरी कानूनी तरिकाबाट सामुहिक र व्यक्तिगत लगानीको सहज वातावरण बनाउन पहल गर्ने उनको चौथो प्रतिवद्धता छ ।

एनआरएनए अमेरिकाको सफलताका लागि एनसीसी बोर्ड, आईसीसी, राज्यका च्याप्टरहरु, विभिन्न स्थानीय संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, बौद्धिक र व्यवसायिक समुदायसँगको सहकार्यमा आफूले दृढ विश्वास गर्ने उल्लेख गर्दै श्रेष्ठले यसैका आधारमा एनआरएनए अमेरिकाको आर्थिक नीति निर्माण र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

ललितपुरको झम्सिखेलमा जन्मिएका श्रेष्ठले तत्कालिन शोभियत संघको लाटभिया राज्यबाट एरोस्पेस इन्जिनियरिङमा मास्टर्स गरेका थिए । अमेरिकाको विश्वविद्यालयबाट समेत एमबीए गरेका उनी पेशागत रुपमा एरोस्पेश इन्जिनियर हुन् । उनी अमेरिकामा सन् १९९६ देखि यसै क्षेत्रमा कार्यरत छन् ।

उनले अत्याधुनिक बोइङ बी ७८७ विमानको प्रमुख प्रोजेक्ट डिजाइन इन्जिनियरिङ गरेको जानकारी दिएका छन् भने संसारकै सबैभन्दा लडाकु विमान एफ ३५ को लाइफ साइकल कस्ट म्यानेजरका रुपमा समेत काम गरेको जानकारी दिएका छन् । यो विमानको बजेट तर्जुमा सन्दर्भमा अमेरिकी रक्षामन्त्रालयबाट प्रदान गरिएको जिम्मेबारी पूरा गरेका उनी अमेरिकाको इन्डियानामा ११ बर्षदेखि बसोबास गर्दै आएका छन् ।

एनआरएनए अमेरिकाको टास्क फोर्समा काम गरेका उनले एनआरएनए अमेरिकाको इन्डियाना च्याप्टरमा नेतृत्वमा रहेर काम गरे । नेपलिज एसोसिएसन अफ इन्डियानामा विभिन्न नेतृत्वदायी पदमा रहेर काम गरेका श्रेष्ठ सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com