कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि संरक्षित भए नभएको जाँच्न एन्टीबडी परीक्षण गराउनुपर्छ ?
कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि तपाईलाई भ्याक्सिनले काम गरे नगरेको थाहा पाउन एन्टीबडी परीक्षण गराउने इच्छा हुनसक्छ । तर तपाईले एन्टीबडी परीक्षण गराउनु पर्दैन ।
इम्यूनोलोजी विज्ञहरुका अनुशार भ्याक्सिन लगाएपछि एन्टीबडी परीक्षण गर्दा अहिले प्राप्त हुने जानकारी अत्यन्तै सिमितमात्र रहेको छ । त्यसका विभिन्न कारणहरु रहेका छन् ।
दादुरा लगायतका रोगका भ्याक्सिनका सन्दर्भमा संरक्षण प्राप्त भए नभएको प्रमाणित गर्न एन्टीबडी परीक्षण उपलब्ध रहेको तथा त्यसको विकाशका लागि दशकौं लागेको तर कोभिड १९ महामारी आएको झण्डै डेढबर्षमात्र भएकाले त्यस्तो परीक्षण पूर्णरुपमा उपलब्ध नरहेको अमेरिकाको युनिभर्सिटी अफ सिनसिनाटी कलेज अफ मेडिसिनमा सरुवा रोग विशेषज्ञ डाक्टर कार्ल फिटेनबमले बताएका छन् ।

शोधकर्ताहरुले केही परीक्षणको विकाश गरेका छन् भने त्यस्ता परीक्षणलाई पूर्णता दिनका लागि उनीहरु काम गरिरहेका छन् । तर त्यसका लागि धेरै काम गर्न भने बाँकी नै रहेको छ । अहिलेका लागि अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पनि भ्याक्सिन लगाएकाहरुलाई एन्टीबडी परीक्षणका लागि सुझाव दिएको छैन ।
अहिले व्यवसायिक ल्याबहरुका कैयन प्रकारका कोभिड १९ एन्टीबडीहरु परीक्षण गरिन्छ । अधिकांश ल्याबहरुले कोरोनाको संक्रमणपछि एन्टीबडी बने नबनेको हेर्छन् भने कैयन ल्याबहरुले अहिले प्रयोगमा रहेका भ्याक्सिनले उत्पादन गर्नेभन्दा फरक प्रकारको एन्टीबडीमात्र पत्ता लगाउन सक्छन् । त्यसैले भ्याक्सिन लगाएकाहरुमा देखिने एन्टीबडीका सन्दर्भमा ती ल्याबहरुले प्रयाप्त जानकारी दिन सक्दैनन् ।
भ्याक्सिन लगाएकाहरुलाई भ्याक्सिनले संरक्षण प्रदान गरेको भएतापनि कतिपय ल्याबले अहिले प्रयोगमा रहेका भ्याक्सिनले उत्पादन गर्नेभन्दा फरक प्रकारको एन्टीबडीमात्र हेर्ने भएकाले त्यस्तो परीक्षणमा भ्याक्सिन लगाएका व्यक्तिमा समेत एन्टीबडी नरहेको रिपोर्ट आउन सक्छ । यद्यपी भ्याक्सिनले फरक खालको एन्टीबडी उत्पादन गरेका कारण संरक्षण भने प्रदान गरिरहेको हुन्छ ।
अहिलेका कोरोनाबिरुद्धका भ्याक्सिनहरुले सार्स कोभ २ स्पाइक प्रोटिनलाई निशाना बनाएका छन् । एन्टीबडी परीक्षणमा उक्त प्रोटिनप्रति एन्टीबडी नहरेसम्म अन्य सबै एन्टीबडी परीक्षणहरु निरर्थक रहेको विज्ञहरुको भनाई छ ।
युनिभर्सिटी अफ टेक्सासको मेडिकल स्कुलका सरुवा रोग प्रमुख डाक्टर लुई ओस्त्रोस्कीका अनुशार अहिले कैयन ल्याबहरुले भ्याक्सिन लगाएकाहरुको एन्टीबडी परीक्षण गरिरहेपनि ती ल्याबमा केबल एन्टी न्युक्लीओक्याप्सीड एन्टीबडीमात्र परीक्षण गरिएको छ । तर भ्याक्सिनले उत्पादन गर्ने एन्टीबडी एन्टी न्युक्लीओक्याप्सीड एन्टीबडी नरहेको डाक्टर लुई ओस्त्रोस्कीको भनाई छ ।

उक्त एन्टीबडी केबल प्राकृतिक रुपमा भएको संक्रमणबाटमात्र बन्ने भएकाले अहिले अधिकांश ल्याबमा हुने परीक्षणले पत्ता लगाउने एन्टीबडी प्राकृतिक रुपमा संक्रमितहरुका सन्दर्भमा विकाश भएको एन्टीबडीमात्र हो । सरल भाषामा भन्दा अहिले ल्याबहरुले प्रदान गर्ने एन्टीबडीको नतिजाबाट भ्याक्सिनबाट एन्टीबडी बने नबनेको हेर्न सकिदैन, केबल विगतमा प्राकृतिक रुपमा कोरोना संक्रमण भएर एन्टीबडीको विकाश भए नभएकोमात्र हेर्न सकिन्छ ।
कतिपय ल्याबले भने स्पाइक प्रोटिनमा पनि एन्टीबडी हेर्न थालेका छन् । तर त्यस्ता परीक्षणहरु प्रयोगका लागि अझै अपरिपक्व रहेको बेलर कलेज अफ मेडिसिनमा नेशनल स्कुल अफ ट्रोपिकल मेडिसिनका डिन डाक्टर पिटर होटेजले बताएका छन् । स्पाइक प्रोटिनमा एन्टीबडी हेर्ने ल्याबहरुले पनि स्पाइक प्रोटिनमा कतिसंख्यामा एन्टीबडी रहेको छ भन्ने देखाउनसक्ने तर व्यक्तिलाई संरक्षण प्रदान गर्नका लागि कति संख्यामा एन्टीबडी आवश्यक छ भन्ने कुरा अझै निक्र्यौल ननिकालिएको डाक्टर होटेजको भनाई छ ।
ल्याबहरुले अहिले संरक्षणलाई संकेत गर्ने एन्टीबडीको स्तर बुझ्नेबारे काम गरिरहेका छन् । त्यस्ता कैयन परीक्षणलाई एफडीएले स्वीकृति पनि प्रदान गरेको छ । तर पनि त्यस्ता परीक्षणबाट उपलब्धिमूलक र प्रयाप्त जानकारीहरु प्राप्त गर्न अहिले नै सम्भव छैन । डाक्टर ओस्त्रोस्की भन्छन् – ‘कतिपयमा परीक्षण गर्दा एन्टीबडी नदेखिन सक्छ । त्यसको अर्थ यो होइन कि उनीहरु कोरोनाबिरुद्धको भ्याक्सिनबाट संरक्षित छैनन् । खोप लगाइसकेपछि खोपको प्रभावबाट एक्स्पोज भएका बी वा टी सेलहरु जस्ता सहयोगी सेलहरु उद्दारका लागि आएमा स्पाइक प्रोटिनमा एन्टीबडी नदेखिने तर भ्याक्सिनले संरक्षण प्रदान गर्ने हुन्छ ।’
प्रतिरक्षा प्रणाली नरहेका वा कमजोर रहेका बिरामीहरुका सन्दर्भमा भने एन्टीबडी परीक्षणले भ्याक्सिनले काम गरे नगरेको सामान्य संकेत प्रदान गर्नसक्छ । त्यस्तो अवस्थामा सामान्य एन्टीबडी परीक्षण नभई स्पाइक प्रोटिनमा एन्टीबडीको अंश भए नभएको चेक गराउन विज्ञहरुले सुझाव दिएका छन् । प्रतिरक्षा प्रणाली नरहेका वा कमजोर रहेकाहरु सिकिस्त बिरामी हुने र मृत्युको जोखिममा भएकाले सिमित सुचनाबाट पनि थप जानकारी हासिल हुनसक्ने डाक्टर होटेजको भनाई छ ।

यदि स्पाइक प्रोटिनमा हेर्दा पनि प्रतिरक्षा प्रणाली कमजोर भएका बिरामीहरुमा एन्टीबडीको कुनै पनि अंश फेला नपरेमा उनीहरुलाई थप अर्को डोज भ्याक्सिन दिन सकिने डाक्टर होटेज बताउँछन् । उनीहरुले निरन्तररुपमा मास्क लगाउन र सावधानीका उपायहरु अपनाउन छाड्न नहुने उनको सुझाव रहेको छ ।
इजरायल लगायतका केही देशमा प्रवेशका लागि स्पाइक प्रोटिनमा हेरिने एन्टीबडी परीक्षण गरिनुपर्ने नियम रहेको छ । इजरायलको निजी ल्याबमा त्यस्तो परीक्षण गर्नका लागि एकजना यात्रुले कम्तीमा एकसयडलर तिर्नुपर्छ । तर त्यसरी परीक्षण गर्दा पनि व्यक्ति कसरी संरक्षित छ भन्ने थाहा नहुने न्युयोर्कको माउन्ट साइनाई अस्पतालका डाक्टर आरोन ग्लाटको भनाई छ ।
इजरालयले केबल व्यक्तिले भ्याक्सिन लगाएको कुरा यत्तिकै विश्वास नगरेर भ्याक्सिन लगाएको वा नलगाएको सुनिश्चित गर्नमात्र यस्तो परीक्षण ल्याएको बताइन्छ । भ्याक्सिन लगाएको कार्डमा जालसाजी हुनसक्ने र नक्कली पनि बनाउनसक्ने भएकाले त्यसमा विश्वास नगरी ल्याब परीक्षणमा नै विश्वासका लागि इजरायलले यो प्रावधान ल्याएको भनाई छ ।
(एनपीआरबाट अनौपचारिक अनुवाद)





