प्रयोगको पूर्ण स्वीकृतिका लागि अमेरिकामा फाइजर भ्याक्सिनको आवेदन
अहिलेसम्म आपतकालिन प्रयोगको अनुमति पाएको कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनले अमेरिकामा प्रयोगको पूर्ण स्वीकृतिका लागि खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको छ । अमेरिकामा अहिलेसम्म मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनले आपतकालिन प्रयोगको अनुमतिमात्र पाएका छन्, पूर्ण स्वीकृति पाएका छैनन् ।
फाइजर अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण स्वीकृतिका लागि आवेदन दिने पहिलो भ्याक्सिन हो । आपतकालिन अनुमतिका लागि छोटो समयको तथ्यांकलाई आधार मनिने र मापदण्डहरु पनि कम कडा हुने भएतापनि पूर्ण स्वीकृतिका लागि कम्तीमा ६ महिनाको तथ्यांक हेरिनुका साथै मापदण्डहरु पनि कडा रहेका छन् ।

स्वीकृति प्राप्त भएको खण्डमा १६ बर्षमाथिका व्यक्तिलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनका लागि फाइजरले पूर्ण छाप प्राप्त गर्नेछ । यसैबीच फाइजरले १२ देखि १५ बर्षसम्मका व्यक्तिलाई भ्याक्सिनका लागि आपतकालिन प्रयोगको अनुमतिका लागि समेत आवेदन दिएको छ ।
अमेरिकामा यो भ्याक्सिनले १२ देखि १५ बर्षसम्मका व्यक्तिलाई लगाउनका लागि छिट्टै आपतकालिन प्रयोगको स्वीकृति प्राप्त गर्ने देखिएको छ । यो उमेर समुहका लागि फाइजर भ्याक्सिन शतप्रतिशत प्रभावकारी रहेको तथ्यांक रहेको छ । यसभन्दा अगाडि १६ बर्षमाथिका व्यक्तिमा भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक रहेको थियो ।





