एनआरएनएबाट साढे ५७ करोडमा निर्मित लाप्राक नमूना बस्तीका ५ सय ७३ नीजि आवास हस्तान्तरण


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको गुम्सिपाखामा निर्मित ऐतिहासिक लाप्राक नमूना बस्ती हस्तान्तरण गरिएको छ । नेपालमा २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पपछि भूकम्पपीडितका लागि एनआरएनएले बस्ती निर्माणको परियोजना अगाडि सारेको थियो । 

यो परियोजना पूरा गर्न झण्डै साढे ५७ करोड खर्च भएको थियो । दाताहरुबाट संकलित रकम ४२ करोड २५ लाख र ब्याज ५ करोड ७६ लाख गरी ४८ करोड रकम दाताहरुबाट प्राप्त भएको थियो । त्यसमा अपुग रकम १३ करोड ३८ लाख एनआरएनएले खर्च गरेको थियो । राहत र उद्दारमा ३ करोड ७४ लाख र लाप्राक बस्ती निर्माणमा ५७ करोड ६६ लाख खर्च भएको थियो ।

महाभूकम्पको छैठौं बार्षिकीको तीन दिन अगाडि एनआरएनए अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, गोरखा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हरिराज अधिकारी, एनआरएन उपाध्यक्ष सोनाम लामा लगायत एनआरएएन नेताहरुको उपस्थीतिमा स्थानीयलाई बस्ती हस्तान्तरण गरेका हुन् ।

५ सय ७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधार हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै पन्तले भने – ‘यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको छ। उहाँहरूसहित सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।’

संघको उपाध्यक्षमा निर्वाचित भएसँगै सोनाम लामालाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको थियो । ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न भई हस्तान्तरण भएकोमा आफूलाई गौरवको महसुस भएको लामाले बताए ।

ढेढ वर्षको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको र परियोजना सम्पन्न भएसँगै सबैको सपना साकार भएको लामाले बताए । विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ का ५ सय ७३ वटा नीजि आवास जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com