अमेरिकाको कुल बयस्क जनसंख्याको आधा बढीले लगाइसके कोरोनाबिरुद्धको भ्याक्सिन
अमेरिकाको कुल बयस्क जनसंख्याको आधा भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । सीडीसीका अनुशार कुल बयस्क जनसंख्याको ५० दशमलव ४ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । यो संख्या दुईवटै वा एउटामात्र भ्याक्सिन लगाएकाहरुको संख्या हो ।
कोरोनाबिरुद्धको दुईवटै भ्याक्सिन भने अमेरिकाको कुल बयस्क जनसंख्याको ३२ दशमलव ५ प्रतिशतले लगाइसकेका छन् । अमेरिकाको कुल जनसंख्याको भने झण्डै ४० प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । दुबै डोज लगाउनेहरुभने कुल जनसंख्याको २५ दशमलव ४ प्रतिशत छन् ।

अमेरिकामा अहिलेसम्म १३ करोड १२ लाख ४७ हजार भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । दुबै डोज लगाउनेहरु ८ करोड ४२ लाख भन्दा धेरै रहेका छन् । अमेरिकामा ६५ बर्ष नाघेको कुल जनसंख्याको ८१ प्रतिशत अर्थात् ४ करोड ४३ लाखभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् ।
न्युयोर्कमा मात्रै ८२ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । यो कुल जनसंख्याको ४१ द्यशमलव ४ प्रतिशत हो । अप्रिलभरमा २ सय मिलियन डोज भ्याक्सिन लगाउने बाइडेन प्रशासनको योजना रहेकोमा अहिलेसम्म २०९ मिलियन डोज भ्याक्सिन पाखुरामा लगाइसकिएको छ ।

अमेरिकामा अहिले मोडेर्ना र फाइजरका भ्याक्सिन सबैभन्दा धेरै लगाइएको छ । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण भने स्थगित गरिएको छ ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ६४ हजारको मृत्यु भइसकेको छ । संक्रमण पुष्टी हुनेहरुको संख्या ३ करोड १४ लाख नाघिसकेको छ । संक्रमितमध्ये ९८ प्रतिशत निको भएका छन् भने २ प्रतिशतको मृत्यु भएको छ ।





