अब लक्षण नदेखिएका न्युयोर्क आउनेहरुले परीक्षण गर्न र क्वारेन्टीनमा बस्न नपर्ने
न्युयोर्कमा आउनेहरुका लागि अब क्वारेन्टीनको नियम अपडेट गरिएको छ । जस अनुशार अब अन्य देश, राज्य वा भूगोलबाट न्युयोर्क आउने कोरोना संक्रमणको लक्षण नदेखिएकाहरुका लागि अनिवार्य कोरोना परीक्षण वा क्वारेन्टीनमा बस्नु नपर्ने भएको छ ।
यद्यपी पूर्णरुपमा भ्याक्सिनको डोज नलगाएका कोरोना संक्रमणबाट विगत तीनमहिनामा पूर्णरुपमा निको नभएकाहरुका लागि अझै पनि क्वारेन्टीनको सिफारिस गरिएको छ । उनीहरुले न्युयोर्क आएको तीनदेखि ५ दिनभित्र परीक्षण गराएको खण्डमा एकसाता र नगराएको खण्डमा १० दिन क्वारेन्टीनमा बस्नुपर्छ । त्यस्तै जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिसँग १४ दिनसम्म सम्पर्कमा नजान सुझाव दिइएको छ ।
भ्याक्सिनको पूर्ण डोज भन्नाले दुई वटा डोज लगाउनुपर्ने भ्याक्सिनको दोश्रो डोज र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको १४ दिन पूरा भइसकेको बुझ्नुपर्छ ।

तर क्वारेन्टीनको नियम अनिवार्य नगराउँदा समस्या हुनसक्ने केही स्वास्थ्यविदहरुले चेतावनी दिएका छन् । कोरोनाको नयाँ प्रकारको संक्रमण बढिरहेको बेलामा लक्षण नदेखिएकाहरुलाई क्वारेन्टीन र परीक्षणको नियम अनिवार्य नगर्दा समस्या आउनसक्ने र संक्रमण बढ्नसक्ने चिन्ता व्यक्त गरिएको हो ।
न्युयोर्क आउने अधिकांश यात्रुहरुले अहिलेपनि स्वास्थ्य सम्बन्धि फर्म भर्नुपर्छ । न्युयोर्क छाडेको २४ घण्टाभन्दा बढी समयपछि न्युयोर्क फर्केहरुले स्वास्थ्य फर्म अनिवार्य भर्नुपर्छ ।
र न्युयोर्क आएपछि १४ दिनसम्म आफैलाई निगरानीमा राख्न आवश्यक छ । लक्षण देखिएका यात्रुहरुले भने सेल्फ आइसोलेसनमा बस्न र स्थानीय स्वास्थ्य अधिकारीहरुलाई सम्पर्क गर्न आवश्यक छ ।
नयाँ निर्देशिकाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।





