अरुलाई भ्याक्सिन लगाउन प्रोत्साहन गर्दै अमेरिकी मरिन, तर आफैले लगाएनन् ४० प्रतिशतले
झण्डै ४० प्रतिशत अमेरिकी सेना मरिनले कोरोनाबिरुद्धको भ्याक्सिन लिन अस्वीकार गरेको तथ्यांकले देखाएको छ । ३८ दशमलव ९ प्रतिशतले भ्याक्सिन लिन अस्वीकार गरेपनि अमेरिकी मरिनले सर्वसाधारणलाई भने भ्याक्सिन लिन प्रोत्साहन गर्दै सुचनाहरु प्रदान गरिरहेको छ ।
अमेरिकाको ८ वटा सैन्य सेवा मध्ये मरिन एउटा हो । मरिन सन् १८३४ देखि युएस डिपार्टमेन्ट अफ नेभीको भगिनी सेवाका रुपमा रहदै आएको छ । नेभी र मरिनले भ्याक्सिनको प्रभावकारिता र सुरक्षाबारे उचित सुचना प्रदान गर्दै सर्वसाधारणहरुलाई भ्याक्सिन लगाउन प्रोत्साहनका साथ शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आएका छन् ।

तथ्यांक अनुशार ७५ हजार ५ सय मरिनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गरेका छन् । तर ४८ हजारले भने भ्याक्सिन लगाउन अस्वीकार गरेका छन् । समग्रमा भ्याक्सिन लगाउनेहरुको प्रतिशत ६१ द्यशमलव १ रहेको छ । यो संख्या सकृय, रिजर्भ र मरिनसँग सम्बन्धित व्यक्तिहरुको हो ।
मरिनहरु अधिकांश स्वस्थ्य र जवान व्यक्तिहरु रहेकाले उनीहरुले भ्याक्सिन लगाउन अस्वीकार गर्नुका कारण अनेकौं हुनसक्ने क्याप्टेन एन्ड्रयु उडले बताएका छन् । कतिपयले भ्याक्सिन आवश्यक हुनेहरुका लागि प्राथमिकता दिएर आफूहरुले भ्याक्सिन लगाउन ढिलो गरेको पनि हुनसक्ने उनले उदाहरण दिएका छन् । कतिपयले सैन्य च्यानलबाट नभएर आफै आफ्नो तरिकाले पनि भ्याक्सिन लिएको हुनसक्ने जनाइएको छ ।

अमेरिकी सेना मरिनले पहिले ६६ प्रतिशतसम्मले भ्याक्सिन लगाउने अनुमान गरेको थियो । तर अनुमान गरेभन्दा पनि कमले भ्याक्सिन लगाएका छन् । सुरुमा भ्याक्सिन लगाउन अस्वीकार गरेकाहरुले पछि सोंच परिवर्तन गर्नसक्ने क्याप्टेन उडको भनाई छ ।





