न्युयोर्कमा भोलिदेखि भ्याक्सिनका लागि ६० बर्षमाथिका सबै योग्य, मार्च १७ बाट अरुपनि
प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार
न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिनका लागि भोलि मार्च १० देखि ६० बर्षमाथिका सबै व्यक्ति योग्य हुने भएका छन् । गर्भनर एन्ड्रयु कुमोले न्युयोर्कमा भ्याक्सिनका लागि योग्य हुनेहरुको श्रेणी विस्तार गरेका हुन् । अब फार्मेसीहरुले मार्च १० बाट ६० बर्षमाथिका सबै व्यक्ति र शिक्षकहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिनसक्ने भएका छन् ।
मार्च १७ बाट भने फार्मेसी बाहेक अरु सबैले सबै योग्य व्यक्तिलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिनसक्ने भएका छन् । मार्च १७ बाट पब्लिक तिर अनुहार फर्काएर काम गर्नुपर्ने सबै अत्यावश्यक कामदार, सरकारी कर्मचारीहरु र गैर नाफामुलक संस्थामा काम गर्नेहरु योग्य हुने भएका छन् ।

विगतमा अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई, फार्मेसीहरुमा ६५ बर्षमाथिकाहरुलाईमात्र भ्याक्सिन लगाउन पाउने मापदण्ड तोकिएको थियो । फार्मेसीहरुले भने ६० बर्षमाथिका र शिक्षकहरुलाईमात्र भ्याक्सिन लगाउन पाउनेछन् । धेरै न्युयोर्कबासीहरु योग्य भएपनि भ्याक्सिनको अभाव भएकाले विना अप्वाइन्टमेन्ट भ्याक्सिन लगाउने स्थानहरुमा उपस्थीत नहुन न्युयोर्कबासीहरुलाई प्रोत्साहित गरिएको छ ।
अप्वाइन्टमेन्ट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।
न्युयोर्क सिटीबाट संचालित भ्याक्सिन साइटहरुमा अप्वाइन्टमेन्ट लिन यहाँ क्लीक गर्नुहोला ।
अहिलेसम्म अमेरिकामा झण्डै साढे १२ करोड भ्याक्सिनका डोजहरु डेलिभर भइसकेको छ भने झण्डै १० करोड डोज अमेरिकनको पाखुरामा लगाइसकिएको छ । भ्याक्सिन पाउनेहरु झण्डै ६ करोड रहेका छन् भने पूर्णरुपमा भ्याक्सिन पाउनेहरु ३ करोड २० लाख नाघिसकेको छ ।

न्युयोर्कमा ३७ लाखले कम्तीमा एकडोज भ्याक्सिन पाइसकेका छन् भने दुबै डोज पाउनेहरु झण्डै १९ लाख छन् । न्युयोर्कको कुल जनसंख्याको झण्डै १८ दशमलव ८ प्रतिशतले भ्याक्सिनका डोज प्राप्त गरिकसकेका छन् भने दुबै डोज पाउने जनसंख्या ९ दशमलव ४ प्रतिशत रहेको छ ।






