श्रीमती र बुहारीको स्याहार र हेरचाहमा खटिएका पुरुष


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

कैलालीको टीकापुर–२ का विनोद कसारा भर्खरै बुबा बनेका छन् । कसराकी श्रीमती पूजाले सन्तान जन्माएपछि कसाराको अहिलेको दैनिकी श्रीमतीको स्याहारसुसारमा बितेको छ ।

डेढ महिनाकी सुत्केरी श्रीमतीको खानपान, बच्चाको स्याहार, श्रीमतीको सरसफाइ जस्ता सबै काममा उनले सघाइरहेका छन् । कसाराले श्रीमतीको काममा सघाउनेमात्र होइन गर्भावस्था तथा सुत्केरी महिलाको मनोबल कमजोर हुन्छ भन्ने बुझेर बढी समय श्रीमतीसँगै बिताउने गरेका छन्। “मेरो श्रीमतीको मनोबल कमजोर नहोस्, उसका मनमा कुरा नखेलून्, चिन्ता नगरोस् भनी दिनभरि रमाइला गफ गर्छु”, उनी भन्छन्, “जसले आमा र बच्चालाई फाइदा होस् । म श्रीमतीले पोषिलो खानेकुरा खुवाउनमा जोड दिन्छु ।”

कसाराको यो व्यवहारले उनकी श्रीमती पूजा पनि खुशी छिन् । “श्रीमान्ले स्याहारमात्र होइन माया पनि गर्नुभएको छ”, पूजाले भनिन्, “टीकापुर नगरपालिकाले उपप्रमुख पोषण कोसेली दिएको थियो । त्यहाँ पनि सँगै गयौँ, सबैले श्रीमतीको कोसेली बुझ्न आएको भने खुशी भए । उहाँले मलाई अस्पतालमा जाँच गर्न जाँदा पनि एक्लै पठाउनु भएको छैन ।”

टीकापुर–३ घियाका खुशीराम चौधरीले पनि सुत्केरी बुहारीको स्याहार गरिररेका छन् । खुशीरामकी बुहारी लक्ष्मी पनि दुई महिनाकी सुत्केरी छिन् । खुशीरामका छोरा रोजगारीका सिलसिलामा घरबाहिर छन् । “बुहारी पनि छोरीजस्तै हुन् । उनको राम्रो स्याहार गरे पो बच्चा स्वस्थ हुन्छ”, खुशीराम भन्छन्, “मैले घरको काममा पनि सघाउँछु । बुहारीका लागि नियमित खानासँगै अण्डा, माछा, मासुको व्यवस्था गरेको छु । अन्य पोषणयुक्त खानेकुरा पनि पहिलेभन्दा बढी खुवाउने गरेको छु ।” ससुराको राम्रो स्याहार पाएकी लक्ष्मी पनि खुशी छिन् । “माइती घर जस्तै लाग्छ । ससुराको जस्तो व्यवहार छैन”, लक्ष्मीले भनिन्, “सके घरको सामान्य काममा सघाउँछु ।”

टीकापुरकै नरेन्द्र शाहको बच्चा डेढ महिनाको छ । नरेन्द्रले पनि श्रीमतीको खानपान र स्याहारमा आफैँ खटेका छन् । उनले ४० दिनसम्म श्रीमतीलाई आराम गर्न लगाएको, बच्चाको स्याहार आफूले गरेको बताए । “श्रीमान्को साथ र सहयोग राम्रो पाएकी छु । बच्चा त दुवैको हो नि । मिलेर स्याहार गरे पो बच्चा स्वस्थ र परिवारमा खुशी आउँछ”, नरेन्द्रकी श्रीमतीले भनिन्।

टीकापुरकै रुपा सुनारको पहिलो बच्चा चार महिनाको भयो । रुपाका श्रीमान् धर्मबहादुरले रुपाको स्याहार गरेको देखेर छिमेकी नि दङ्ग छन् । गर्भावस्थादेखि विशेष स्याहार पाएकी रुपाको बच्चा जन्मदा चार किलोको थियो । “मैले अहिलेसम्म भान्साको काम गरेकी छैन । श्रीमान् जागिरे छन् । बिहान घरको काम सकेर, दिउँसोका लागि मलाई खाजाको व्यवस्था गरिदिएर कार्यालय जानुहुन्छ”, रुपाले भनिन्, “अहिलेसम्म पानीमा गर्नुपर्ने काम गरेकै छैन । बच्चा र मेरो कपडा धोएको देखेर छिमेकीले कुरा काट्छन्, मलाई नि अफ्ठेरो लाग्छ, तर उहाँ मान्नुहुन्न ।”

रुपाका छिमेकी पूर्ण साउँदले धर्मबहादुरबाट आफूले धेरै कुरा सिकेको बताए । “मलाई उनले श्रीमती र बच्चा स्याहारेको देख्दा पछुतो लाग्छ । मैले किन गरिनछु भन्ने लाग्छ”, छिमेकी साउँदले भने, “सबै महिलाले धर्मबहादुर जस्तै श्रीमान् पाए समाजमा हिंसा, दुःख रहने थिएन । सबै घरमा खुशी छाउँथ्यो ।”

कैलालीका पालिकाले सुत्केरी तथा गर्भवतीको पोषण सुधार र जनचेतना वृद्धिका लागि पोषण कोसेली वितरण जस्ता कार्यक्रम गर्ने गरेका छन् । यहाँका पालिकाले कोसेलीमा अण्डा, घ्यू, गेडागुडी र फलफुल वितरण गरेर दम्पतीलाई नै सचेत गराउने गरेका छन् । यस वर्ष कैलालीको टीकापुर नगरपालिकाले २९७ जनालाई उपप्रमुख पोषण कोसेली वितरण गरेको छ । “कोभिड–१९ का कारण समयमै कोसेली वितरण गर्न सकिएन । अबका दिनमा मासिकरुपमा गर्ने तयारी छ”, उनी भन्छन्, “कोसेली लिन आएका अभिभावक तथा परिवारका सदस्यलाई पोषण र स्वास्थ्य संवेदनशीलताबारे जानकारी दिने गरेका छौँ ।” रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com