प्रतिनिधिसभाका कम्तीमा १४० रिपब्लिकन सांसदले बाइडेनको जीत अस्वीकार गर्दै मतदान गर्ने


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

अमेरिकाको प्रतिनिधिसभाका कम्तीमा १४० रिपब्लिकन सांसदले राष्ट्रपतिमा बाइडेनको जीत अस्वीकार गर्ने भएका छन् । उनीहरुले जनवरी ६ मा संसदले गर्ने इलेक्टोरल मतगणना अस्वीकार गर्ने तयारी गरेका हुन् । जसका कारण सांसदहरुलाई संसदका दुबै सदनमा जो बाइडेनको जीत स्वीकार गर्ने वा नगर्ने भन्ने सन्दर्भमा मतदान गर्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

उनीहरुको विरोधले चुनावी नजिता परिवर्तन हुने नदेखिएपनि संसदले बाइडेनको जीतलाई औपचारिकता दिनमा भने केही घण्टा ढिलाई हुनसक्नेछ । त्यस्तो विरोध प्रतिनिधिसभा डेमोक्र्याट्सहरुले अस्वीकार गर्ने निश्चित छ भने सिनेटबाट पनि पारित हुने सम्भावना छैन ।

कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ । तर अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शुन्य रहेको छ ।

सन् १८८७ मा इलेक्टोरल गणना ऐन पारित भएदेखि दुईपटक राज्यको चुनावी परिणाममा संसदीय अवरोध भएको छ । तर यस्तो अवरोध भएपनि त्यो या त सिनेटबाट या त हाउसबाट पारित नभएका कारण अर्थहिन बन्यो ।

चुनावी परिणाममा अवरोध ल्याएर बाइडेनलाई राष्ट्रपति हुन नदिने रिपब्लिकनहरुको दीर्घकालिन योजना भएकाले यसपटक पनि यस्तो प्रयास हुनसक्छ । तर दुबै सदनबाट सामान्य बहुमतबाट पारित नभएसम्म त्यस्तो अवरोध अर्थहिन हुनेछ । पार्टी अनुशार मतदान हुँदा रिपब्लिकनहरुले बाइडेनको जीतलाई रोक्न सक्दैनन् ।

हाउसमा डेमोक्र्याट्सको नियन्त्रण भएकाले रिपब्लिकनले ल्याएको अवरोध हाउसबाट पारित हुन सम्भव छैन । सिनेटमा पनि कैयन रिपब्लिकनले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेकाले त्यहाँबाट पनि त्यस्तो अवरोध पारित हुने सम्भावना कम रहेको छ ।

ट्रम्पका केही समर्थकहरुले संसदमा अवरोधको योजना बनाइसकेका छन् । जनवरी ६ मा अमेरिकी संसद राजनीतिक नाटकघर जस्तो देखिने अवस्था रहेको छ । तर यो प्रकृयाले चुनावको परिणामलाई बदल्ने सम्भावना भने शुन्यप्राय रहेको छ ।

आगामी जनवरी २० मा अमेरिकामा राष्ट्रपतिमा जो बाइडेनले सपथग्रहण गर्नेछन् । तर त्यतीबेलासम्म डोनाल्ड ट्रम्प नै अमेरिकाको राष्ट्रपति रहनेछन् ।

डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई नै सदर गरिसकेका छन् । अब जनवरी ६ मा संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गर्ने भएकाले यो सबै प्रकृया नयाँ संसदले गर्नेछ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रण रहेको छ भने जर्जियाका दुईसिट डेमोक्र्याट्सले नै जीतेपनि पचास पचास हुने अवस्थामा समेत टाइब्रेक मतका रुपमा उपराष्ट्रपतिले काम गर्न पाउने भएकाले माइक पेन्स नै त्यहाँ हुनेछन् । सिनेटमा ५० सिट रिपब्लिकनले र ४८ सिट डेमोक्र्याट्सले जीतेका छन् । जनवरी ५ को चुनावमा जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेपनि टाइब्रेकका लागि नयाँ उपराष्ट्रपतिले सपथ नलिंदासम्म रिपब्लिकनै नियन्त्रण हुनेछ ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com