दुबै सदनबाट पारित राहत प्याकेजमा ट्रम्पले हस्ताक्षर नगर्दा लाखौं अमेरिकनले गुमाए बेरोजगारी सहायता


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

दुबै सदनबाट पारित राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर नगर्दा लाखौं अमेरिकनले बेरोजगारी सहायता गुमाएका छन् । शनिबार रातीसम्मको डेडलाइन पार भइसकेकाले अब कोरोना महामारीका कारण लाखौं बेरोजगार अमेरिकनहरुले सहायता गुमाएका हुन् । अब लाखौं अमेरिकनहरु भाडातिर्न नसकेर घरबाट निकालिने जोखिम बढेको छ ।

ट्रम्पले ९ सय बिलियनको राहत प्याकेजमा हस्ताक्षर नगर्दा अन्य कैयन अत्यावश्यक सहायताहरु पनि जोखिममा परेका छन् । विजनेश र परिवारका लागि प्रदान गरिने कैयन सहायता अबको ४ दिनमा अन्तय हुँदैछन् भने मंगलबारसम्म खर्च विधयेकमा हस्ताक्षर नभए  अमेरिकी सरकार नै शटडाउन हुनेछ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्ताक्षर गर्न आग्रह गर्दै हस्ताक्षर गर्न ढिलाइ गरेमा विनाशकारी परिणाम आउने चेतावनी दिएका थिए । ट्रम्पले विधयेकमा हस्ताक्षर नगर्नु गैरजिम्मेबारी रहेको बाइडेनले बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्याकेजमा संसोधनको माग गर्दै हस्ताक्षर गरेका छैनन् । ट्म्पले बिलमा अनावश्यक कुराहरु राखिएको भन्दै संसोधन गर्न भनेका छन् भने राहत चेक ६ सय बाट बढाएर २ हजार बनाउनुपर्ने धारणा राखेका छन् ।

झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएका छन् ।

यो राहत प्याकेज १ दशमलव ४ ट्रिलियनको खर्च विधयेकसँगै आएको छ ।

के भन्दैछन् ट्रम्प ?

ट्रम्पले हिजोपनि २ हजार डलरको राहत चेक प्रदान गर्नुपर्नेमा जोड दिए । दुबै सदनबाट पारित राहत प्याकेजमा ६ सय डलरको राहत चेक मात्र समेटिएकोमा उक्त प्याकेजमा हस्ताक्षर नगरीकनै ट्रम्पले २ हजार डलरको राहत चेक सहितको प्याकेज ल्याउनुपर्ने बताए ।

उनले भने – ‘किन राजनीतिज्ञहरु जनतालाई ६ सयको साटो २ हजार डलर दिन चाहन्नन् ? यो उनीहरुको गल्ती थिएन । यो त चीनको थियो । हाम्रा जनतालाई पैसा देऊ ।’

ट्रम्पले राहत प्याकेजमा असहमति जनाएपछि २ हजार डलरको राहतचेक समेटिएको संसोधित राहत प्याकेज अमेरिकाको प्रतिनिधिसभामा सर्वसम्मत गराउन डेमोक्रेटिक सांसदहरुले गरेका थिए । तर त्यस्तो प्रयास रिपब्लिकन सांसदहरुले अस्वीकार गरेका थिए ।

अब सोमबार २ हजार डलर राहत चेकसहित संसोधन गरिएको प्याकेजमा प्रतिनिधिसभामा मतदान हुनेछ । तर त्योभन्दा अगाडि नै ट्रम्पले हस्ताक्षर गरेको खण्डमा भने संसदका दुबै सदनबाट पारित भएर ह्वाइटहाउसमा लगिएको बिल नै कार्यान्वयनमा आउनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी थिइन् ।

चालु संसदको आयु अब झण्डै एकसातामात्र रहेको छ । नोभेम्बर ३ को चुनावबाट नवनिर्वाचित सांसदहरुले  जनवरी ३ मा सपथग्रहण गरेपछि नयाँ संसद सुरु हुनेछ ।  यो संसद छँदै बिल पारित हुन नसके नयाँ संसदले सुरुबाटै प्रकृयाको थालनी गर्नुपर्नेछ ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ ।

कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com