आज क्रिसमस डे मनाइँदै


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

आज प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन्।

आजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्। क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल तातेको छ ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ । यसैले आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com