‘लेमडक’ प्रधानमन्त्री ओली र अहंकारी शैलीका कारण देशमाथि थपिएको बोझ


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

– किशोर नेपाल

नेपाली नागरिक समाजका सर्वमान्य ब्यक्तित्व डा. देबेन्द्रराज पाण्डे दम्पत्ती बितेका आठ महिनादेखि घरबाट बाहिर निस्किनु भएको छैन । बुढेशकालमा कोविड – १९ को कोपमा परिएला भनेर उहाँहरु घरैमा हुनुहुन्छ, लगभग एकान्तवासमा । साथी–भाइ र चेला–चपाटीको फोन आयो भने दंग पर्दै उत्साहका साथ कुरा गर्नुहुन्छ डा.पाण्डे । ट्विटरमा रमाउनु हुन्छ । अहिलेको लागि त्यही भएकोछ उहाँको साथी । उहाँका ट्विट बिचारोत्तेजक पनि हुन्छन ।

कहिलेकहीं हल्काफुल्का ट्विट पनि नगर्ने होइन । कसैको बिचार राम्रो लाग्यो भने उदारतापूर्वक री–ट्विटगर्ने बानी छ डाक्टर साहेबको ।

उहाँले दिसम्बर २१ मा सुजीव शाक्यले अंग्रेजी भाषामा लेख्नु भएको एउटा ट्विट ‘आरटी’ गर्नु भयो । ट्विटको नेपाली भावार्थ थियो – ‘बलात्कार बिरुध्दको एउटा अध्यादेश जारीगर्न सरकारले राष्ट्रपति कार्यालय पठाएको थियो । त्यो अध्यादेश सरकारले राष्ट्रपति कार्यालय पठाएको १४ दिनपछि जारी भयो । अहिले प्रतिनिधि–सभा बिघटनको आदेश केही घण्टामा नै सदर गरेर राष्ट्रपति संविधान संहारकको मतियार बन्नुभयो ।’

सुजीवको बिचार डाक्टर साहेबलाई आकर्षक लाग्यो । उहाँले ‘आरटी’ गर्नुभयो र खुशी हुनुभयो ।

सोमबार बिहान मैले डाक्टर साहेबको मेसेन्जरमा आफनो एउटा स्तम्भ लेख पठाएँ । डाक्टर साहेब अनलाइन हुनुहुँदो रहेछ । मेसेन्जरमा ‘कल’ गर्नु भयो ।

एकछिनको भलाकुसारीको पहिलो र महत्वपूर्ण बिषय थियो देश । संसद बिघटनको औचित्य, नेपाली राजनीतिका प्रभावशाली भनिने नेताहरुको चर्चा, प्रतिनिधि–सभा बिघटनको दूरगामी प्रभाव र कोविड – १९ । कोविडको बारेमा डाक्टर साहेब चिन्तित हुनुहुन्थ्यो । यो स्वाभाविक पनि थियो ।

बेलायतमा कोविडको प्रकोप बढदो थियो । कोरोनाले आफनो रुप नै परिवर्तन गरेर आक्रमण गरेपछि बेलायतमा अत्यधिक बढ्यो संक्रमण । स्थिति काबू बाहिर जान थालेपछि बेलायत सरकारले यो महा–बिपत्तिबाट जनतालाई जोगाउन लकडाउनको सहारा लियो । फ्रान्स, जर्मनी र भारतले बेलायतसंगको हवाइसेवा बन्द गरे । बेलायतको आन्तरिक उडान पनि उडेन । स्कटल्याण्ड जान चाहनेहरुलाई यसले प्रभावित ग¥यो । पछिल्लो संक्रमणपछि जर्मनीमा एकैदिन ९०० जना कोविडको शिकार बने ।

प्रसंगमा डाक्टर साहेब भन्दै हुनुहुन्थ्यो, ‘कोरोनाको बिकसित र बलियो संस्करण बेलायत पुगी सक्यो । त्यहाँबाट भारत र त्यसपछि नेपाल आउन कति नै दिन लाग्दछ र ?’

नागरिकको मनमा चिन्ता जतिसुकै गुम्सिएपनि नेपाल सरकार कोविडसंग सिंगौरी खेल्न खोजी रहेकोछ । कोरोना प्रतिरोधी भ्याक्सिन बनेपछि नेपाली जनताले पनि त्यसको उपयोग गर्नपाउने आशा देखाउनु अस्वाभाविक होइन । तर, प्रम ओलीका अभिमानी र अहंकारी राजनीतिक शैलीका कारण देशमाथि चुनावको आर्थिक बोझ थपिएकोछ । भ्याक्सिन कि चुनाव ? भन्ने त प्रश्नै भएन । पहिले भ्याक्सिन कि पहिले चुनाव भन्ने कुरा पनि भएन । दुबै एकसाथ चाहियो । त्यसका लागि खरबौं खरब रुपियाँ चाहिन्छ ।

अहिले त झन आनन्द छ मुलुकमा । हुन त, ओली नेतृत्वको सरकार कहिले पो जिम्मेवार थियो र ? आइतबारदेखि यता त झन देशमा काम चलाउ सरकार छ । जिम्मेवार सरकार छैन । प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बिघटनपछि ‘लेमडक’ बनेका छन् । देशमा पूरै समय प्रधानमन्त्री बन्ने ब्यक्तिलाई त कसैले टेर्दैन भने लेमडकको त भाउ नै के रह्यो र ?

प्रधानमन्त्री ओलीले ठूलो स्वरले चिच्याउँदै ‘म बहुमतमै छु । मैले गरेको निर्णय अदालतले रोक्न मिल्दैन’ भनेपनि, त्यो उनको भ्रम हो । अब उनको हैसियत प्रतिनिधि सभा सदस्यको होइन । ओलीले जतिसुकै चर्को स्वरमा यो कुरा भनेपनि, अदालत त्यसलाई मान्न बाध्य छैन । राष्ट्रपतिले प्रतिनिधि सभाको बिघटन गरेपछि ओली अहिले काम चलाउ प्रधानमन्त्री छन् । उनको जम्माजम्मी हैसियत त्यत्ति नै हो ।

रमाइलो कुरा के भने, प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेपछि सरकारका संचार माध्यमहरु बर्बराउँदा रहेछन । सरकारले चलाउने एउटा अंग्रेजी दैनिकले सोमबार समाचार बिश्लेषण लेख्यो जसमा भनिएको थियो : ‘देशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि थुप्रै खेलकूद भइ रहेका थिए । यस्ता खेलकूदले गम्भीर दुर्घटना निम्त्याउलान भनेर यो कदम चाल्नु परेको हो ।’

अब यो भनाइको गाम्भीर्यलाई कसरी बुझने ?

समाचार बिश्लेषक श्रीधर पौड्यालका अनुसार प्रम ओलीले हिजो जनताका नाममा गरेको संवोधनको ९ ठाउँमा ‘म’ शब्दको प्रयोग भएकोछ, ८ ठाउँमा ‘मैले’ शब्दले स्थान पाएको छ, ६ ठाउँमा ‘मेरो’ वा ‘मेरा’, ५ ठाउँमा ‘हामी’ र ‘हाम्रा’ र १ ठाउँमा ‘तपाईं’ शब्दको प्रयोग भएकोछ । यसबाट प्रधानमन्त्री ओलीले सन्तुलन गुमाउन लागेको शंका स्पष्ट हुन्छ ।

रमाइलो कुरा, प्रम ओलीले जागीर खान बोलाएका मध्ये दुइजनाले उनको जागीर नखाने भएका छन् । उनीहरु खान नपाएपनि लोकतान्त्रिक बाटो नछाड्ने अडान लिएर बसेका छन । प्रम ओलीले आफू लोकतान्त्रिक बाटो हिंडेकोछु भन्न छाडेका छैनन ।

तर, गएको शनिवारदेखि नै छापा र सामाजिक सन्जालमा उनको कटु आलोचना शुरु भइ सकेकोछ । उनीमाथि बिना कुनै कारण, आफनो तुच्छ राजनीतिक स्वार्थका लागि सार्वभौम संसदको जीवन हरण गरेको आरोप लागेकोछ । यो निश्चय पनि ठीक सन्देश होइन ।

केही समय अघिसम्म उनको ब्यक्तित्वलाई आकर्षक मान्नेहरुको कमी थिएन । अहिले त्यो मौसमलाई सुखा मौसमले बिस्थापित गरेकोछ । यो पटक, प्रम ओलीलाई उनको आफनै नियतिले ठगेकोछ । त्यसैको चपेटामा परेर देश ठगिएकोछ ।

लेखक
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com