जागिरपछिको जीवन सहज बनाउन रिसोर्ट


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

कैलालीको टीकापुर नगरपालिका–१ का यमबहादुर शाह पेशाले स्वास्थ्यकर्मी हुन् । उनले छ वर्ष गुल्मी जिल्लामा स्वास्थ्यकर्मीको रुपमा काम गरे । दश महिना पहिले सरुवा भएर टीकापुर नरगपालिकामा आएका सिनियर अहेब शाहले गुल्मीमै रहँदा केही व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाएका थिए । तर के गर्ने भन्नेमा शाह आफै दोधारमा रहेका थिए । साथीहरूसँग चिया पसलमा भएका गफले उनलाई होटेल व्यवसाय गर्ने आट आयो । उनमा आट मात्रै आएन दैनिक चिया गफमा कुरा हुँदै जाँदा चार जना अरु व्यक्ति पनि होटलमा लगानी गर्न मञ्जुर भए ।

जागिरसँगै होटल व्यवसायीको रुपमा चारजना अन्य सहकर्मीलाई जोडेर टीकापुर नगरपालिका–१ पार्क रोडमा ‘टीकापुर भिजिट एग्रो रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । साझेदारीमा रहेका पाँच जना फरकफरक क्षेत्रमा आवद्ध छन् । “योजना पहिले नै बनाएको थिएँ । एक्लैले व्यवसाय गर्न आँट पुगेन”, शाहले भने, “जागिर सँगसँगै केही आम्दानी जोड्नका लागि भए पनि व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राखेर नै व्यवसायमा लागेको हुँ ।” उनले जागिर सकिएपछिको बाँकी जीवनलाई चलाउन पनि व्यवसाय नै महत्वपूर्ण रहने भन्दै कार्यालय समयभन्दा बाँकी रहेको समय व्यवसायका लागि खर्च गर्दै आएको बताए ।

त्यस्तै, कैलालीकै जानकी गाउँपालिका–८ खैरीपुरका सुरत विश्वकर्मा २०७१ सालमा रोजगारीको सिलसिलामा मलेसिया पुगे । उनमा पाँच वर्ष मलेसियामा गरेको परिश्रमले स्वदेशमै केही गर्नुपर्छ भन्ने आँट आयो । तर के गर्ने भन्ने कुनै योजना बनाउन नसकेका सुरत अहिले त्यही रिसोर्टको एक लगानीकर्ताको रुपमा रहेका छन् ।

१२ कक्षासम्म अध्ययन गरेका सुरतले मलेसियामा रहँदा होटल लाइनमा गरेको कामको अनुभवलाई स्वदेशमा प्रयोग गर्न लागेको बताए । “विदेशबाट फर्कदा स्वदेशमै केही गर्नुपर्छ भन्ने मनस्थिति बनाएर फर्केको थिएँ”, सुरतले भने, “विदेशमा रहेर होटलमै काम गर्दा पाएको अनुभव र भावनात्मक रुपमा कुरा मिल्ने साथीसँग काम गर्दा त्यसले वृहत रुप लिन सक्छ भन्ने सोचका साथ हामीले व्यावसायिक यात्रा तय गरेका हौ ।”

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘भिजिट रिसोर्ट’ टीकापुरका अर्का लगानीकर्ता टीकापुर नगरपालिका–२ का राजेश विश्वकर्मा पेशाले राजनीति क्षेत्रमा आवद्ध छन् । नेकपामा आवद्ध भएका उनले राजनीतिका लागि पनि व्यावसायिक पाटो महत्वपूर्ण रहने बताए । राजनीतिले घर परिवार चलाउन मुस्किल हुन थालेपछि राजेश तनाबमा थिए । तर नयाँ योजनाका बारेमा साथीहरूले गरेको छलफलले उनमा जोश आयो । काम गर्ने इच्छाशक्ति पलायो र राजेश त्यही व्यवसायमा एक लगानीकर्ताको रुपमा लागे ।

“नेपालमा पर्यटन, कृषि र हाइड्रोपावरमा गरिएको लगानीले सफलता पाउनेमा दुई मत छैन”, लगानीकर्ता राजेशले भने, “पर्यटन क्षेत्रसँग होटल व्यवसाय पनि जोडिने भएकाले हामी सफल हुन्छौ जस्तो लाग्छ ।” करिब रु ७० लाखको लगानीमा निर्माण भएको उक्त रिसोर्टमा शैक्षिक पेशामा आवद्ध मीना चौधरीको पनि लगानी छ । उनी दिनभर विद्यालयमा विद्यार्थीलाई अध्यापन गराउँछन् र फुर्सदको समयमा आफूले रिसोर्टलाई पनि समय दिँदै आएको मीनाले बताइन् ।

उक्त रिसोर्टको पाचौं लगानीकर्ताको रुपमा युवा विद्यार्थी जनक चलाउने रहेका छन् । अध्ययनको सिलसिलामा जिल्ला बाहिर भए पनि साथीहरूको विश्वासले रिसोर्टमा लगानी गरेको उनको भनाइ छ । रिसोर्टले गर्ने आम्दानीको १० देखि १५ प्रतिशत रकम अनाथ र असाहायको लागि खर्च गरिने योजना रहेको लागनीकर्ताको भनाइ छ । “आफूहरु कुनै न कुनै माध्यमबाट विगत देखिनै सामाजिक क्षेत्रसँग पनि जोडिएका छौँ”, लागानीकर्तामध्येका शाहले भने, “अहिले पनि विभिन्न आश्रम तथा शिविरमा बस्दै आएकालाई सक्दो सहयोग गर्दै आएका छौँ, अब रिसोर्टको आम्दानीमध्ये केही रकम सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न क्षेत्रमा खर्च पनि गर्ने योजना बनाएका छौँ ।”

आम्दानीको १० देखि १५ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने सहमति हुँदा यस्तो योजनाबाट समाजमा घुलमिल हुन पनि सहज हुने विश्वास उनीहरुको छ । झण्डै दश कठ्ठा जग्गामा सञ्चालन गरिएको उक्त रिसोर्ट पारिवारिक र बालबालिकामैत्री छ । रिसोर्ट परिसरमा बाल बगैँचा, नेपालको धरहरा, नेपालको नक्शा, सगरमाथालगायतका डिजाइन बनाइएका छन् ।

आगामी दिनमा यो रिसोर्टलाई एग्रोफर्मतर्फ परिणत गर्दै पब्लिक शेयरका लागि पनि आह्वान गरिने योजना बनाइएको छ । आगामी एक वर्षभित्र धनगढी र कोहलपुरमासमेत शाखा विस्तारको तयारीमा उनीहरु रहेका छन् । अहिले रिसोर्टमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कैलालीको पूर्वी क्षेत्र टीकापुरमा सञ्चलनमा रहेको ‘टीकापुर वृहत उद्यान‘ महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । उद्यानमा दैनिक पर्यटकको ठूलो चहलपहल हुने गर्दछ । कोरोना कहरका कारण केही महिना बन्द भए पनि यो उद्यानमा यही मंसिरदेखि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

उद्यानमा घुम्न आउने पर्यटकलाई लक्षित गरी भिजिट एग्रो रिसोर्ट सञ्चालनमा ल्याएको लगानीकर्ताको भनाइ छ । उद्यानमा घुम्न आउनेको गतिविधि नै स्थानीय होटल व्यावसायीको आम्दानीको आधार बन्ने गरेको अवस्थामा नमूनाको रिसोर्ट सञ्चालन हुँदा पर्यटकको गतिविधि थप बढ्दै जाने विश्वास गरिएको छ । टीकापुर बजार क्षेत्र नेपालकै नमूनाको रुपमा बस्ती विकास भएको शहर मानिन्छ । तत्कालीन मन्त्री खडकबहदुर सिंहको पहलमा टीकापुरलाई नमूना बस्तीको रुपमा विकास गरिएको थियो । तत्कालीन राजा महेन्द्र बिरामी हुँदा यसै टीकापुर वृहत उद्यानमा विश्राम गरेर स्वास्थ्य लाभ गरेका थिए । उद्यानमा महेन्द्र विश्राम गृह, वीरेन्द्र विश्राम गृहलगायतका संरचनाका साथै रङ्गीचङगी फूलका बगैँचा छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com