सीडीसीबाट अर्को चरणमा भ्याक्सिन पाउनेको प्राथमिकता तय


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

अमेरिकन सीडीसीले अर्को चरणका कोरोनाबिरुद्धको भ्याक्सिन पाउनेहरुको प्राथमिकता तय गरेको छ । सीडीसीको सल्लाहकार कमिटिले अर्को चरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार तय गरेको छ । पहिलो चरणको दोश्रो उपचरणका लागि यो प्राथमिकता तय गरिएको हो ।

यो प्राथमिकतामा पक्षमा १३ र विपक्षमा १ मत खसेको थियो । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा कमिटिले प्राथमिकतामा ६५ देखि ७५ बर्षसम्मकालाई राखेको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो चरणमा राखिएको छ ।

पहिलो चरणको दोश्रो र तेश्रो उपचरणमा भ्याक्सिनको प्राथमिकताबारे छलफल गर्न आइतबार बैठक बसेको हो । यसभन्दा अगाडिको बैठकले पहिलो चरणको पहिलो उपचरणमा भ्याक्सिनको प्राथमिकताबारे निर्णय गरेको थियो । पहिलो उपचरणमा अग्रमोर्चाका स्वाथ्यकर्मीहरु र दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरुलाई प्राथमिकतामा राखिएको थियो ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन । अमेरिकाले डिसेम्बरभरमा २० मिलियन, जनवरीमा ६० मिलियन र फरबरीमा १०० मिलियन भ्याक्सिनका डोज पाउने भएको छ । जुन डोजहरु ९० मिलियन जनसंख्यालाई पूर्णरुपमा भ्याक्सिन लगायन प्रयाप्त हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com