कोरोना भाइरसको नयाँ स्ट्रेन : बेलायतबाट आउने उडानमा युरोपका देशहरुले लगाए रोक


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

बेलायतका कोरोनाभाइरसको नयाँ स्ट्रेन देखिएपछि युरोपका देशहरुले बेलायतबाट आउने उडानमा रोक लगाएका छन् । यसरी रोक लगाउने देशहरुको संख्या बढ्दै गएको छ । बेलायतका स्वास्थ्यमन्त्रीले भाइरस नियन्त्रणबाहिर गएको बताएका छन् ।

नेदरल्याण्डसले जनवरी १ सम्मका लागि युरोपबाट आउने उडानहरुमा रोक लगाएको छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ स्ट्रेन जस्तै भाइरस डिसेम्बरको सुरुतिर आफ्नो देशमा पनि भेटिएको नेदरल्याण्डसले जनाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र बैज्ञानिकहरुले शनिबारमात्र युरोपमा कोरोनाको नयाँ स्ट्रेन भेटिएको बताएका थिए । कोरोनाको नयाँ स्ट्रेन ७० प्रतिशतभन्दा बढी संक्रामक रहेको उनीहरुले बताएका थिए । लगत्तै नेदरल्याण्डसले बेलायतबाट आउने उडानमा रोक लगाएको हो ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएपछि बेलायती सरकारले लण्डन र अन्य केही क्षेत्रमा चौथो स्तरको लकडाउनको घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच बेल्जियमले पनि सोमबार २४ घण्टाका लागि बेलायतबाट आउने यात्रुहरुमा रोक लगाउने घोषणा गरेको छ । अहिले सावधानीका लागि यस्तो घोषणा गरिएको र यस्तो प्रतिबन्ध बढ्न सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन् । मध्यरातदेखि २४ घण्टाका लागि उडानबाट आउने र युरोट्रेनबाट आउनेहरुमा समेत प्रतिबन्धको घोषणा गरिएको छ ।

इटलीले पनि बेलायतबाट आउने र बेलायत जाने उडानहरु रद्द गर्ने घोषणा गरेको छ । तर यस्तो प्रतिबन्ध कहिलेदेखि सुरु गर्ने भन्नेबारे केही बताइएको छैन । इटलीले विगत २ सातामा बेलायतमा गएका सबैमाथि यात्रा प्रतिबन्ध लगाउने भएको छ ।

त्यस्तै चेक रिपब्लिकले पनि आइतबारदेखि लागु हुनेगरी बेलायतबाट आउनेहरु अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम लागु गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएपछि चेक रिपब्लिकले यस्तो नियम लागु गरेको हो ।

शनिबार तीब्र बनेको कोरोना संक्रमण रोक्न लण्डनसहित इंग्ल्याण्डका विभिन्न क्षेत्रमा इमर्जेन्सी लकडाउनको घोषणा गरिएको थियो । संक्रमण बढ्दै गइरहेको अवस्थामा प्रधानमन्त्री बोरिस जोन्सनले विशेष सम्बोधनमार्फत साउथ तथा इष्ट इंग्ल्याण्डमा पूर्ण लकडाउनको घोषणा गरेका हुन् ।

यसअघि विभिन्न ३ टिएरमा राखेर क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिएकोमा संक्रमण बढ्दै गएपछि थप कडा प्रतिवन्धसहितको टिएर ४ पूर्ण लकडाउनको घोषणा गरिएको हो । यो लकडाउन २ साताको लागि लागू हुने छ ।

लकडाउनमा अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द रहनेछन् । अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय बन्द हुनेछन् ।

सर्वसाधारणलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्रै रहन ’स्टे होम’ को अपील जारी गरिएको छ । काम, शिक्षा, स्वास्थ्य उपचार लगायतका सन्दर्भमा यात्रा गर्नैपर्ने बाहेक अन्य अवस्थामा घरभित्रै बस्नुपर्नेछ ।

यसअघि क्रिसमसका अवसरमा दिने भनिएको ३ परिवारसम्म जमघट हुन पाइने छुट पनि स्थगित गरिएको छ । टिएर ४ बाहेक का क्षेत्रमा पनि उक्त छुट पहिला भनिएजस्तो ५ दिनबाट घटाएर क्रिसमसको दिनलाई मात्रै सिमित गरिएको छ ।

घरबाहिरका सार्वजनिक स्थलमा समेत एकजनाले फरक परिवारका अर्को एकजनालाईमात्र भेट्न पाउनेछन् । तर त्यसमा केही अपवाद भने लागु गरिएको छ । अत्यावश्यक बाहेकका अन्य अन्तर्राष्ट्रिय यात्राहरु नगर्न सुझाव दिइएको छ । टियर ४ क्षेत्रमा पर्नेहरुलाई अरु स्थानमा गएर रात नबिताउन र अरु स्थानका व्यक्ति टियर ४ क्षेत्रमा यात्रा नगर्न भनिएको छ ।

पूर्ण लकडाउन गर्ने टियर ४ क्षेत्र पूरै लण्डन, केन्ट, बकिंघमशायर, बर्कशायर, सर्रेका अधिकांश भागहरु, बेडफोर्डशायर, लुटन, हर्टफोर्डशायर र एसेक्सका अधिकांश भागहरु रहेका छन् । अहिलेका लागि २ साताका लागि पूर्ण लकडाउन हुने भएपनि डिसेम्बर ३० मा पुनरावलोकन गरिने भएको छ ।

म्यूटेशन भाइरसको सामान्य प्रवृत्ति हो । अधिकांश यस्ता परिवर्तन अर्थहीन हुने गर्छन् वा भाइरसले आफूलाई बदल्दा त्यो सङ्क्रामक हुन छाड्छ र आफैँ हराएर जान्छ।

तर कहिलेकाहीँ भने उसको परिवर्तनले उसलाई थप सङ्क्रामक वा घातक बनाउन सक्छ। अहिलेको नयाँ स्ट्रेन बढी संक्रामक रहेको बताइएको छ ।

“यसमा एकदमै धेरै म्यूटेशन भइरहेका छन्। हामीले अपेक्षा गरेकोभन्दा धेरै। अनि केही परिवर्तन रोचक देखिन्छन्,” कोभिड-१९ जिनोमिक्स यूके (सीओजी-यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यानले बताए।

दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिएको वैज्ञानिकहरुको भनाई छ । दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन्।

पहिलो म्यूटेशन N501 भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ।

यही भागमार्फत् स्पाईकले हाम्रो शरीरको कोषमा पहिलो स्पर्श गर्छ। कोषभित्र छिर्न थप सजिलो बनाउने कुनै पनि यस्ता परिवर्तनले भाइरसलाई मद्दत पुग्छ।

“यो परिवर्तन महत्त्वपूर्ण अनुकूलन जस्तो लाग्छ,” प्राध्यापक लोम्यानले भने।

अर्को म्यूटेशनको नाम “H69/V70 डिलिशन” छ जुन यसअघि धेरै पटक देखा परेको थियो। यही म्यूटेशन भएको भाइरस मिङ्क जनावरमा पनि देखिएको थियो।

यो म्यूटेशन भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको चिन्ता व्यक्त भएका थिए।

भाइरसको स्पाईक प्रोटीनमा भएका म्युटेशनहरूले कोभिडविरुद्धका तीन अग्रणी खोपबारे पनि प्रश्न उठेका छन्। फाइजर, मोडर्ना र अक्सफर्ड तीनै वटाको खोपले भाइरसको यही स्पाईक प्रोटीनमा आक्रमण गर्छन्।

तर मानिसको शरीरले स्पाईकको विभिन्न भागमा प्रतिरोध गर्न सिक्छ। त्यसैले यी खोपले नयाँ स्वरूपका भाइरसविरुद्ध पनि काम गर्नेमा स्वास्थ्य अधिकारीहरू ढुक्क छन्।

वुहानमा देखा परेको सुरुको स्वरूपसँग अहिलेको भाइरसको स्वरूप तुलना गर्ने हो भने २५ थरी परिवर्तन भइसकेको देखिन्छ। कोरोनाभाइरसले मानिसलाई सही तरिकाले सङ्क्रमित पार्ने शैली विकास गर्ने क्रममा थुप्रै म्यूटेशन गरिरहेको छ।

खोपको आम अभियान सुरु भएपछि त्यसले भाइरसमाथि भिन्न प्रकारको दबाव सिर्जना गर्ने र त्यसपछि भाइरसले प्रतिरोधी मानिसलाई सङ्क्रमण परिवर्तित हुनसक्ने वैज्ञानिकहरुको भनाई छ ।

यदि त्यस्तो भयो भने कोरोनाभाइरसको खोप पनि फ्लूको खोपजस्तै नियमित रूपमा अद्यावधिक वा परिष्कृत गर्दै जानुपर्छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com