चीनको फोसन फर्माद्वारा कोरोनाविरुद्धको १० करोड अमेरिकन खोप किन्ने तयारी


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले कोभिड–१९ विरुद्धको अमेरिकन खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकबाट मिलेर बनाएको खोप किन्ने तयारी भएको हो ।तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ । चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउन कार्य गरिरहेको छ ।

विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन् । शाङ्घाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरिएको जनाएको छ ।

यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ ।

तर बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन । फाइजर र बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ । चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन् ।

हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौताहरु पनि गरिरहेको छ । चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्दछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com