इलेक्टरहरुले पनि दिए बाइडेनकै जीतलाई औपचारिकता, घोषणा जनवरी ६ मा


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

नोभेम्बर ३ को चुनावबाट चुनिएका इलेक्टरहरुले पनि अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई नै सदर गरेका छन् । अमेरिकी राष्ट्रपति चुनावमा अमेरिकी जनताले सिधै राष्ट्रपति नचुनेर इलेक्टरहरु चुन्ने भएका कारण आज ती इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपति चुन्नका लागि मतदान गरेका हुन् ।

डोनाल्ड ट्रम्पले आफ्नो पराजय अझै स्वीकारेका छैनन् । ट्रम्पले पेन्सिलभेनिया लगायतका राज्यका इलेक्टरहरुलाई मतदान गर्नबाट रोक लगाउन गरेको कानूनी लडाई समेत असफल भइसकेको छ ।

इलेक्टोरल कलेजका सदस्यहरु आआफ्ना राज्यमा जम्मा भएर राष्ट्रपतिका लागि औपचारिक रुपमा मतदान गरेका छन् । बाइडेन राष्ट्रपति हुनका लागि आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत औपचारिक रुपमा प्राप्त गरिसकेका छन् ।

इलेक्टरहरुले मतदान गरिसकेपछि  नतिजा सार्वजनिक गर्दै प्रमाणपत्रमा हस्ताक्षर गर्छन् । ती प्रमाणपत्रहरु सिनेटको प्रेसिडेण्डको हैसियतमा उपराष्ट्रपति माइक पेन्स समक्ष पठाइनेछ । त्यस्तै फेडरल रजिष्टरको अफिस, राज्यका सेक्रेटरी अफ स्टेट र संघीय जिल्ला अदालतका प्रमुख न्यायाधिससमक्ष पठाइनेछ ।

त्यसपछि जनवरी ६ मा संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

कुन संसदले प्रकृया अगाडि बढाउँछ ?

संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गर्ने भएकाले यो सबै प्रकृया नयाँ संसदले गर्नेछ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रण रहेको छ भने जर्जियाका दुईसिट डेमोक्र्याट्सले नै जीतेपनि पचास पचास हुने अवस्थामा समेत टाइब्रेक मतका रुपमा उपराष्ट्रपतिले काम गर्न पाउने भएकाले माइक पेन्स नै त्यहाँ हुनेछन् । सिनेटमा ५० सिट रिपब्लिकनले र ४८ सिट डेमोक्र्याट्सले जीतेका छन् । जनवरी ५ को चुनावमा जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेपनि टाइब्रेकका लागि नयाँ उपराष्ट्रपतिले सपथ नलिंदासम्म रिपब्लिकनै नियन्त्रण हुनेछ ।

के सांसदले परिणाम रोक्न सक्छन् ?

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ । तर अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शुन्य रहेको छ ।

सन् १८८७ मा इलेक्टोरल गणना ऐन पारित भएदेखि दुईपटक राज्यको चुनावी परिणाममा संसदीय अवरोध भएको छ । तर यस्तो अवरोध भएपनि त्यो या त सिनेटबाट या त हाउसबाट पारित नभएका कारण अर्थहिन बन्यो ।

संसदले परिणाम बदल्ने सम्भावना कत्तिको छ ?

चुनावी परिणाममा अवरोध ल्याएर बाइडेनलाई राष्ट्रपति हुन नदिने रिपब्लिकनहरुको दीर्घकालिन योजना भएकाले यसपटक पनि यस्तो प्रयास हुनसक्छ । तर दुबै सदनबाट सामान्य बहुमतबाट पारित नभएसम्म त्यस्तो अवरोध अर्थहिन हुनेछ । पार्टी अनुशार मतदान हुँदा रिपब्लिकनहरुले बाइडेनको जीतलाई रोक्न सक्दैनन् ।

हाउसमा डेमोक्र्याट्सको नियन्त्रण भएकाले रिपब्लिकनले ल्याएको अवरोध हाउसबाट पारित हुन सम्भव छैन । सिनेटमा पनि कैयन रिपब्लिकनले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेकाले त्यहाँबाट पनि त्यस्तो अवरोध पारित हुने सम्भावना कम रहेको छ ।

ट्रम्पका केही समर्थकहरुले संसदमा अवरोधको योजना बनाइसकेका छन् । जनवरी ६ मा अमेरिकी संसद राजनीतिक नाटकघर जस्तो देखिने अवस्था रहेको छ । तर यो प्रकृयाले चुनावको परिणामलाई बदल्ने सम्भावना भने शुन्यप्राय रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com