कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन अमेरिकाबाट स्वीकृत, सोमबारदेखि लगाउन सुरु हुने


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको छ । एफडीएले  सोमबारदेखि भ्याक्सिन लगाउने काम सुरु हुने अपेक्षा गरेको छ ।

आपतकालिन अवस्थामा एफडीएले औषधी वा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति दिनुसक्छ । सोही अनुरुप आपतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन भएको छ । स्वास्थ्यमन्त्री एलेक्स आजरले फाइजरको भ्याक्सिनको पहिलो शटहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

एफडीएले भ्याक्सिन उत्पादक, सीडीसी र संघीय भ्याक्सिन कार्यक्रमलाई समयमै भ्याक्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ । अमेरिकाले डिसेम्बरभित्र २० मिलियन, जनवरीमा ३० मिलियन र फरबरीमा ५० मिलियन भन्दा बढी फाइजर र मोडेर्नाका भ्याक्सिनका डोजहरु प्राप्त गर्ने भएको छ । हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरेको थियो । प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।

भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com