बाइडेनको जीतलाई रोक्ने ट्रम्पको प्रयास सर्बोच्च अदालतबाट पनि अस्वीकार


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

पेन्सिभेनियामा जो बाइडेनको जीतलाई रोक्ने प्रयास गर्दै ट्रम्प पक्षधर रिपब्लिकनहरुले गरेको अनुरोधलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बाइडेनको जीतको प्रमाणिकरण रोक्ने प्रयास स्वरुप ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

सर्वोच्च अदालतका ९ जना न्यायाधिसमध्ये ६ जना रिपब्लिकन नियुक्त न्यायाधिसहरु रहेकाले आफ्नो पक्षमा फैसला आउनसक्ने डोनाल्ड ट्रम्पको अपेक्षा रहेको थियो । तर सर्बोच्च अदालतको आदेशले चुनावमा धाँधली भन्दै कतिपयले गरेको अनुमान गलत सावित भएको छ । अदालतले एकलाइनको आदेश जारी गर्दै ट्रम्प पक्षको अनुरोध अस्वीकार गरेको हो ।

अदालतले ट्रम्प पक्षको अनुरोध अस्वीकार गर्नुको कारणबारे केही व्याख्या समेत गरेको छैन । राष्ट्रपतिको चुनावमा राज्यका गभर्नरको प्रमाणिकरणलाई रद्द गर्नेगरी अदालतले अहिलेसम्म आदेश जारी गरेको कुनै इतिहास पनि छैन ।

मंगलबार चुनावी नतिजा प्रमाणिकरण गर्ने सबै राज्यहरुको अन्तिम डेडलाइन रहेको अवस्थामा सर्वोच्चको यो कदमबाट ट्रम्पको कानुनी लडाईको अध्याय लगभग समाप्त भएको देखिएको छ । किनभने डिसेम्बर ८ लाई संघीय कानुन अन्तरगत राज्यहरुले चुनावी नतिजा प्रमाणिकरण गर्ने सुरक्षित हार्वरका रुपमा लिने गरिन्छ ।

अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको छनौट गर्नेछन् । जनवरीको पहिलो साता यसको औपचारिक घोषणा गरिने छ । र जनवरीमा २० मा नयाँ राष्ट्रपतिले पदको सपथग्रहण गर्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com