रिपब्लिकन सांसदले बाइडेनको जीत स्वीकारेकोमा ट्रम्पको आक्रोश, जीत स्वीकार्नेको सुची बनाउन माग


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

कैयन रिपब्लिकन सांसदले राष्ट्रपतिमा जो बाइडेनको जीत स्वीकारेकोमा डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन् । उनले बाइडेनको जीत स्वीकार्नेको रिपब्लिकनहरुको सुची बनाउन माग गरेका छन् । उनले बाइडेनको जीत स्वीकारेका २७ रिपब्लिकन सांसदहरुको नामसहितको सुची मागेका हुन् ।

वासिंटन पोष्टले गरेको सर्वेक्षणमा अहिलेसम्म २७ जना रिपब्लिकन सांसदहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीत स्वीकार गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति चुनावको एक महिना बितिसक्दा पनि डोनाल्ड ट्रम्प र अन्य कैयन रिपब्लिकनहरुले ट्रम्पको पराजय स्वीकारेका छैनन् ।

बाइडेनले अमेरिकी राष्ट्रपतिमा स्पष्ट रुपमा जीतिसकेका छन् भने ट्रम्पको तुलनामा ७ मिलियनभन्दा धेरै मत प्राप्त गरेका छन् । अहिलेसम्म अलाबामा र एरिजोनाका २ जना रिपब्लिकन सांसदहरुलेमात्र ट्रम्पले जीतेको दावी गरिरहेका छन् । हाउस र सिनेटका अरु रिपब्लिकन सांसदहरु भने कस्ले जित्यो भन्ने सन्दर्भमा मौन बसेका छन् ।

राष्ट्रपति चुनाव कस्ले जित्यो ? लगायतका तीनवटा प्रश्नहरु सबै २४९ रिपब्लिकन सांसदहरुलाई पठाइएको थियो । वासिंटन पोष्टका २५ जना पत्रकारहरुले सांसदहरुलाई सम्पर्क गरेका थिए । त्यस्तै सांसदहरुले सार्वजनिक रुपमा दिइएका वक्तब्यहरुलाई समेत आधार बनाइएको थियो ।

यसैबीच क्यालिफोर्नियाले जो बाइडेनको जीत प्रमाणिकरण गर्दै ५५ जना इलेक्टरहरु नियुक्त गरेपछि बाइडेनका पक्षमा प्रमाणित इलेक्टरहरुको संख्या २७९ पुगिसकेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टरोल कलेज मत आवश्यक भएकोमा प्रमाणित इलेक्टोरल कलेजले समेत बाइडेनको जीत सुरक्षित गरिसकेका छन् ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

अन्य केही राज्यहरुले चुनावी नतिजा प्रमाणिकरण गर्न बाँकी रहेको छ । सबै राज्यले चुनावी नतिजा प्रमाणिकरण गर्दासम्म बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत आउने देखिएको छ । कोलोराडो, हवाई र न्युजर्सीले चुनावको नतिजा प्रमाणित गरिसकेका छैनन् । कोलोराडोमा ९, हवाईमा ४ र न्युजर्सीमा १४ इलेक्टोरल कलेज मत रहेका छन् । यी सबै राज्यमा बाइडेनले जीतेका छन् ।

ट्रम्प र उनका सहयोगीहरुले चुनावी नतिजा उल्टाउने प्रयास स्वरुप एरिजोना, जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विसकन्सिनमा कम्तीमा ५० वटा मुद्दा दायर गरेकोमा ३० वटा भन्दा बढी मुद्दा खारेज र फिर्ता भइसकेका छन् । तर पनि ट्रम्पले आफ्नो पराजय भने स्वीकार गरेका छैनन् ।

डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपति चुन्नेछन् । त्यसको औपचारिक घोषणा जनवरीको पहिलो साता गरिनेछ । नयाँ राष्ट्रपतिले जनवरी २० मा औपचारिक रुपमा सपथ ग्रहण गर्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com