विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु क्लीन्टन, ओबामा र बुसले सार्वजनिकरुपमा भ्याक्सिन लिने


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

कोरोनाबिरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लीन्टन, बराक ओबामा र जर्ज डब्ल्यु बुसले सार्वजनिक रुपमा नै भ्याक्सिन लिने भएका छन् । तीजना पूर्व अमेरिकी राष्ट्रपतिहरुले अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हिचकिचाहट कम गर्न आफैले भ्याक्सिन लिने घोषणा गरेका हुन् ।

अमेरिकामा फाइजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ भने त्यसको केही दिनमा नै भ्याक्सिन वितरण सुरु गरिनेछ । ओबामाले भ्याक्सिन लिएको भिडियो समेत टेलिभिजनबाट प्रशारण गरिने भएको छ । आफूले विज्ञानलाई विश्वास गर्ने ओबामाले बताएका छन् ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि अमेरिकाका बरिष्ठ सुरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीलाई सम्पर्क गरेर सार्वजनिक रुपमा भिडियो नै खिच्नेगरी कोरोनाबिरुद्ध भ्याक्सिन लिने बताएका छन् । भ्याक्सिन सुरक्षित भएको प्रमाणि भएर एफडीएले स्वीकृति दिएपछि आफूले लिने उनको भनाई छ ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लीन्टनका प्रेस सेक्रेटरीले पनि भ्याक्सिन उपलब्ध हुनासाथ क्लीन्टनले लिने जानकारी दिएका छन् । सबै अमेरिकनलाई भ्याक्सिन लिनका लागि प्रोत्साहन गर्न क्लिन्टन पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिन तयार भएका छन् ।

बेलायतमा  भ्याक्सिन प्रयोगको अनुमति

बेलायतले अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेनसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनका लागि प्रयोगको अनुमति दिएको छ । कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिने बेलायत पहिलो मुलुक बनेको छ । अमेरिका र युरोपियन युनियनले स्वीकृति दिनु अगाडि बेलायतले स्वीकृति प्रदान गरेको हो ।

परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी र सुरक्षित पाइएको यो भ्याक्सिन आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत गरेको हो ।

सोमबार मात्रै कम्पनीका तर्फबाट आवेदन गरिएकोमा बेलायतको मेडिसिन एन्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्वीकृति प्रदान गरेको हो । बेलायतमा यो भ्याक्सिन आगामी सातादेखि उपलब्ध हुने भएको छ ।

बेलायत सरकारले बायोनटेक र फाइजरले निर्माण गरेको यो भ्याक्सिन लगभग ४० मिलियन डोज अर्डर गरिसकेको छ । एक जनालाई २ खोपका दरले कुल २० मिलियन मानिसका लागि पर्याप्त हुनेछ ।

बेलायतले अर्डर गरेको मध्ये १ करोड डोज पहिलो चरणमा आइपुग्नेछ । जसमध्ये ८ लाख केही दिनभित्रै बेलायत आउनेछ । आगामी साता ८ लाख डोज वितरणका लागि ५० वटा अस्पतालहरुले तयारी गरेका छन् ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । यो भ्याक्सिनले अमेरिकामा भने डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

अमेरिकामा भ्याक्सिन दिनका लागि मतदान

अमेरिकन सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले कोरोनाबिरुद्धको भ्याक्सिन पहिलो चरणमा कसलाई दिने भन्ने सन्दर्भमा मतदान गरेका छन् । १४ जनामध्ये १३ जनाले पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मीहरु र आश्रममा दीर्घकालिन हेरचाहमा रहेकाहरुलाई प्रदान गर्नका लागि मतदान गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले भ्याक्सिन प्रयोगको अनुमति प्रदान गर्नासाथ उनीहरुलाई भ्याक्सिन दिइने भएको छ । सल्लाहकार समितिले यी दुबै समुहलाई पहिलो चरणमा भ्याक्सिन दिनेमा सहमति जनाएको छ । आत्मनिर्भर भएर बाँच्न नसक्ने हेरचाह केन्द्रमा रहेकाहरुलाई प्राथमिकतामा राखिएको सीडीसीले जनाएको छ ।

६ प्रतिशत कोरोनाका केसहरु दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमा रहेको र अमेरिकाभर ४० प्रतिशत मृत्यु उनीहरुको भएको सीडीसीले जनाएको छ । त्यस्तै साढे २ लाख भन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको सीडीसीले जनाएको छ । जसमध्ये ८ सय ५८ जनाको मृत्यु भएको छ ।

डाक्टर हेलेन ट्यालबोटले भने पहिलो चरणमा दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई दिन नहुने भन्दै मतदान गरेकी छिन् । त्यस्ता दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमाथि भ्याक्सिनको परीक्षण नभएकाले उनीहरुलाई पहिलो चरणमा दिन नहुने उनको तर्क छ । तर उनले भ्याक्सिनले काम गर्ने र सुरक्षित हुने आशा व्यक्त गरेकी छिन् ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको थियो । कम्पनीले सोमबार अमेरिकाको साथै युरोपमा पनि प्रयोगको अनुमतिका लागि आवेदन दिएको छ ।

योसँगै मोडेर्ना प्रयोगको अनुमतिका लागि आवेदन दिने दोश्रो भ्याक्सिन कम्पनी भएको छ । यसअगाडि जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाएको अमेरिकन कम्पनी फाइजरले खाद्य तथा औषधी प्रशासन समक्ष प्रयोगका लागि आवेदन दिइसकेको छ ।

मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन कोरोना संक्रमणबाट सिकिस्त बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन कोरोना संक्रमणबाट जोगाउन ९४ दशमलव १ प्रतिशत प्रभावकारी देखिएपनि सिकिस्त बिरामी हुनबाट जोगाउन भने शतप्रतिशत नै प्रभावकारी देखिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा भ्याक्सिन सल्लाहकार समितिका सदस्य डाक्टर पउल ओफिटले यी तथ्यांकहरु निकै उत्साहजनक भएको बताएका छन् । शनिबार राती भ्याक्सिनको प्रभावकारिताबारेका तथ्यांक हेर्दा आफू निकै भावुक भएको मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले बताए ।

भ्याक्सिनको परीक्षणमा सहभागीमध्ये १९४ जनालाई कोरोना संक्रमण भएकोमा तीमध्ये ११ जनाले पूर्ण वास्तविक भ्याक्सिन प्राप्त गरेका थिए । अरु १८५ जनाले भ्याक्सिनको सलाइनमात्र प्राप्त गरेका थिए ।

सिकिस्त भएका ३० जनाले वास्तविक भ्याक्सिन लिएका थिएनन्, केबल सलाइनमात्र लिएका थिए । एकजना सलाइनमात्र लिएकाको मृत्यु भएको थियो । तर वास्तविक भ्याक्सिन लिएकाहरु सामान्य र सिकिस्त संक्रमण हुनबाट जोगिएका थिए । भ्याक्सिनको प्रभावकारिता सबै जातजाती र उमेर समुहमा देखिएको छ । हिस्पानिक, एसियन, अश्वेत, अमेरिकन र बहुजातीयहरु परीक्षणमा सहभागी थिए ।

मोडेर्ना भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १७ मा बस्नेछ । त्यो अगाडि डिसेम्बर १० मा फाइजरको भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक बस्दैछ । बैठकको केहीदिनमा नै भ्याक्सिनले स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

डिसेम्बर दोश्रो साता अमेरिकनले फाइजरको भ्याक्सिन पाउनसक्ने

छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनले फाइजरको भ्याक्सिन पाउनसक्ने अपेक्षा गरिएको छ । अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुख डाक्टर मोन्सेफ स्लाओईले प्रयोगको स्वीकृति पाएको २४ घण्टाभित्र भ्याक्सिन लगाउने स्थलमा भ्याक्सिनका डोजहरु पठाइने बताएका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनको सल्लाहकार समितिको बैठक डिसेम्बर १० मा बसेर फाइजरको भ्याक्सिनलाई स्वीकृति प्रदान गर्ने अपेक्षा गरिएको छ । स्वीकृति पाएको एक वा दुई दिनमा ११ वा १२ डिसेम्बरमा वितरण सुरु गरिने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुखले बताएका हुन् ।

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि नोभेम्बर २० मा अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीए समक्ष आवेदन दिएको थियो । यो संगै कोरोनाबिरुद्ध लड्न फाइजरको भ्याक्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फाइजरको भ्याक्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वीकृतिका लागि आवेदन दिइएको हो ।

एफडीएका वैज्ञानिकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको बारे निष्कर्ष निकाल्नेछन् । स्वीकृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्याक्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य समस्या भएकाहरुलाई भ्याक्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक कामदार, शिक्षक, होमलेस र कैदीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।

फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको थियो । एफडीएको स्वीकृति पछि यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । स्वीकृत भएमा यो भ्याक्सिनले डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ ।

प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो । सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो ।

१७० मध्ये १६२ जनामा सलाइन शटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए । यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लोअप गरिनेछ ।

भ्याक्सिनको दुईमहिनाको सुरक्षा तथ्यांक हेरेर एफडीएले आपतकालिन प्रयोगका लागि स्वीकृति दिनसक्नेछ । एफडीएले फाइजरको आवेदनपछि विज्ञहरुको सुझाव लिनेछ । र, विज्ञहरुको सुझावका आधारमा भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिने वा नदिने निर्धारण गर्नेछ ।

फाइजरको भ्याक्सिन स्वीकृत भएमा भने वितरणमा केहीसमस्या आउनसक्ने जनाइएको छ । किनभने यो भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । साथै ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ ।

फाइजरले सन् २०२० भित्रै ५० मिलियन भ्याक्सिन उत्पादन गर्नसक्ने बताएको छ । जुन २५ मिलियनलाई दिन प्रयाप्त हुनेछ । यो भ्याक्सिन हरेकलाई २ शट दिनुपर्छ । आगामीबर्षसम्म फाइजरले १ दशमलव ३ बिलियन भ्याक्सिनका डोज उत्पादन गर्नसक्ने जनाइएको छ ।

मोडेर्नाले भ्याक्सिनको मूल्य २५ देखि ३७ डलर

मोडेर्नाले भ्याक्सिनको मूल्य प्रतिडोज २५ देखि ३७ अमेरिकी डलर लिने भएको छ । अर्डर संख्याका आधारमा मूल्य थोरैधेरै हुनसक्ने कम्पनीका सीईओले बताएका छन् । सरकारलाई भ्याक्सिन बेच्दा मोडेर्नाले यो रकम लिने जनाइएको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिनको मूल्य फ्लुशटकै मूल्यको हाराहारीमा रहेको छ । फ्युशटको मूल्य पनि १० देखि ५० डलरको हाराहारीमा रहेको छ । युरोपियन कमिसनले मोडेर्ना भ्याक्सिनका करोडौं डोजहरु २५ डलरभन्दा कम मूल्यमा प्राप्त गर्नका लागि छलफल गरिरहेको छ ।

डिसेम्बरमा २ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने

डिसेम्बरमा २ करोड अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नसक्ने अमेरिकी सरकारको भ्याक्सिन पहलमा संलग्न बरिष्ठ बैज्ञानिक मन्सेफ स्लाउइले बताएका छन् । अपरेशन र्याप स्पीडका प्रमुख सल्लाहकार समेत रहेका उनले सन् २०२० को अन्त्यसम्ममा २ करोडले भ्याक्सिन पाउनसक्ने बताएका हुन् ।

उनले डिसेम्बरमा २ करोड र त्यसपछि हरेक महिना साढे २ करोडदेखि ३ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने बताए । फरबरीको अन्त्यसम्ममा अमेरिकामा रहेका ७ देखि ८ करोडले भ्याक्सिन पाउनसक्ने उनको भनाई छ । आगामी तीनमहिनामा अमेरिकी जनसंख्याको एक चौथाईले भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अप्रिलसम्म कोरोनाबिरुद्धको भ्याक्सिन सर्वसुलभ रुपमा नै उपलब्ध हुने अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची लगायतले बताएका छन् । फाउचीले पनि अब छिट्टै भ्याक्सिन उपलब्ध हुने तर कोरोना सम्पूर्णरुपमा निर्मूल भने तत्काल नहुने बताएका छन् ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com