दोश्रोपटक मतगणना गर्दा पनि विसकन्सिनमा बाइडेनले जीतेपछि ट्रम्पबाट अदालतमा मुद्दा दायर


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

विसकन्सिनमा जो बाइडेनको जीतको प्रमाणिकरण उल्टाउन डोनाल्ड ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । त्यहाँका गभर्नरले सोमबार बाइडेनको जीतको घोषणा गर्दै चुनावी नतिजा प्रमाणिकरण गरेकोमा त्यसको खारेजीको माग गर्दै राज्यको सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

चुनावमा धाँधली भएको आरोप लगाउँदै हुलाकबाट पठाइएका मतपत्रहरुको संख्या नघटाएसम्म चुनावी नतिजा प्रमाणिकरणमा रोक लगाउन माग गरिएको छ । डोनाल्ड ट्रम्प र माइक पेन्सका तर्फबाट उक्त मुद्दा दायर गरिएको हो । यो मुद्दा चुनावी नतिजा उल्टाउने ट्रम्पको प्रयासको अन्तिम कडी हो ।

ट्रम्प अभियानका तर्फबाट विसकन्सिनका मिलाउकी र डेन काउन्टीमा दोश्रो पटक मतगणनाका लागि ३ मिलियन डलर खर्च गरिएको थियो । दोश्रो पटक मतगणना गर्दा पनि बाइडेनकै जीत भयो भने बाइडेनका पक्षमा झन् मतहरु थपिए । १० इलेक्टोरल कलेज मत रहेको विसकन्सिनमा बाइडेनले झण्डै २० हजार बढी मत ल्याएर जितेका छन् ।

विसकन्सिन राज्यले सोमबार औपचारिक रुपमा बाइडेनको जीत प्रमाणिकरण गरेको हो ।

त्यस्तै एरिजोनामा पनि सोमबार बाइडेनको जीत औपचारिक रुपमा प्रमाणिकरण गरिएको छ । एरिजोनामा मतपत्रहरु खारेज गराउनका लागि ट्रम्प अभियानका तर्फबाट कानूनी लडाई सुरु गरिएको थियो । तर ट्रम्पको त्यस्तो प्रयास असफल भएको छ । ११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा बाइडेनले ट्रम्पको तुलनामा झण्डै १० हजार बढी मत ल्याएर जीतेका छन् ।

यी दुबै राज्यमा सन् २०१६ मा डोनाल्ड ट्रम्पले जीतेका थिए ।

बाइडेनले अमेरिकाभर ३०६ इलेक्टोरल मत सुरक्षित गरेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल मतका साथ पराजित हुनुपरेको छ । इलेक्टरहरुले डिसेम्बर १४ मा औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको छनौट गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिएपनि जनवरी २० मा सपथग्रहण समारोह हुनेछ ।

एरिजोनाका लागि अन्तिम चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० मा रहेकोमा डेडलाइनभित्रै प्रमाणिकरण गरिएको हो । क्यालफोर्नियाका लागि डिसेम्बर ११, कोलोराडोका लागि नोभेम्बर ३०, कनेक्टिकटका लागि डिसेम्बर ३, वासिंटन डिसीका लागि डिसेम्बर २, इलिनोयका लागि डिसेम्बर ४ को चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन रहेको छ ।

त्यस्तै आयोवाका लागि नोभेम्बर ३०, कन्सासका लागि डिसेम्बर १, मेरिल्याण्डका लागि डिसेम्बर ८, मिजौरीका लागि डिसेम्बर ८, मोन्टानाका लागि नोभेम्बर ३०, नेब्रास्काका लागि नोभेम्बर ३०, न्यु ह्याम्पशायरका लागि डिसेम्बर २, न्युजर्सीका लागि डिसेम्बर ८ को प्रमाणिकरण डेडलाइन रहेको छ । त्यस्तै ओरेगन, टेक्सास र वासिंटनका लागि डिसेम्बर ३ को डेडलाइन रहेको छ भने विसकन्सिनका लागि डिसेम्बर १ को डेडलाइट रहेको छ ।

टेनेसी, रोड आइल्याण्ड, पोर्तोरिको, गुआम, हवाई, अमेरिकन सामोआ लगायतको कडा डेडलाइन छैन भने अन्य राज्यको डेडलाइन पार भइसकेको छ । कैयन राज्यहरुले डेडलाइन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com