एरिजोना र विसकन्सिनमा पनि बाइडेनको जीत प्रमाणिकरण, ट्रम्पको प्रयास असफल
प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार
विसकन्सिनमा डोनाल्ड ट्रम्प अभियानले ३ मिलियन डलर खर्च गरेर दोश्रो पटक मतगणना गराउँदा पनि मतपरिणाममा खास परिवर्तन गर्न नसकेपछि जो बाइडेनको जीतको आधिकारिक प्रमाणिकरण गरिएको छ । विसकन्सिन राज्यले सोमबार औपचारिक रुपमा बाइडेनको जीत प्रमाणिकरण गरेको हो ।
त्यस्तै एरिजोनामा पनि सोमबार बाइडेनको जीत औपचारिक रुपमा प्रमाणिकरण गरिएको छ । यी दुबै राज्यमा सन् २०१६ मा डोनाल्ड ट्रम्पले जीतेका थिए । एरिजोनामा मतपत्रहरु खारेज गराउनका लागि ट्रम्प अभियानका तर्फबाट कानूनी लडाई सुरु गरिएको थियो । तर ट्रम्पको त्यस्तो प्रयास असफल भएको छ ।
११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा बाइडेनले ट्रम्पको तुलनामा झण्डै १० हजार बढी मत ल्याएर जीतेका छन् । १० इलेक्टोरल कलेज मत रहेको विसकन्सिमा पनि बाइडेनले ट्रम्पको तुलनामा झण्डै २० हजार बढी मत ल्याएर जितेका छन् ।
बाइडेनले अमेरिकाभर ३०६ इलेक्टोरल मत सुरक्षित गरेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल मतका साथ पराजित हुनुपरेको छ । इलेक्टरहरुले डिसेम्बर १४ मा औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको छनौट गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिएपनि जनवरी २० मा सपथग्रहण समारोह हुनेछ ।
एरिजोनाका लागि अन्तिम चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० मा रहेकोमा डेडलाइनभित्रै प्रमाणिकरण गरिएको हो । क्यालफोर्नियाका लागि डिसेम्बर ११, कोलोराडोका लागि नोभेम्बर ३०, कनेक्टिकटका लागि डिसेम्बर ३, वासिंटन डिसीका लागि डिसेम्बर २, इलिनोयका लागि डिसेम्बर ४ को चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन रहेको छ ।
त्यस्तै आयोवाका लागि नोभेम्बर ३०, कन्सासका लागि डिसेम्बर १, मेरिल्याण्डका लागि डिसेम्बर ८, मिजौरीका लागि डिसेम्बर ८, मोन्टानाका लागि नोभेम्बर ३०, नेब्रास्काका लागि नोभेम्बर ३०, न्यु ह्याम्पशायरका लागि डिसेम्बर २, न्युजर्सीका लागि डिसेम्बर ८ को प्रमाणिकरण डेडलाइन रहेको छ । त्यस्तै ओरेगन, टेक्सास र वासिंटनका लागि डिसेम्बर ३ को डेडलाइन रहेको छ भने विसकन्सिनका लागि डिसेम्बर १ को डेडलाइट रहेको छ ।
टेनेसी, रोड आइल्याण्ड, पोर्तोरिको, गुआम, हवाई, अमेरिकन सामोआ लगायतको कडा डेडलाइन छैन भने अन्य राज्यको डेडलाइन पार भइसकेको छ । कैयन राज्यहरुले डेडलाइन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् ।