इतिहासमै पहिलोपटक बाइडेनले अर्थमन्त्रीका लागि छाने महिला
प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरी अर्थात् अर्थमन्त्रीमा जानेट यालेनलाई छानेका छन् । यालेनको नियुक्ती भएमा अमेरिकी इतिहासमा नै उक्त पदमा पुग्ने उनी पहिलो महिला हुनेछिन् ।
यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।
त्यस्तै बाइडेनले एडेवाले एडेमोलाई डिपार्टमेन्ट अफ ट्रेजरीको डेपुटी सेक्रेटरीका लागि छनौट गरेका छन् । यदि उनको नियुक्ती भएमा उनी उक्त पदमा पुग्ने पहिलो अश्वेत हुनेछन् ।
जो बाइडेनले म्यानेजमेन्ट र बजेट अफिस निर्देशकमा नीरा टण्डनलाई नियुक्त गर्ने भएका छन् । मुख्य आर्थिक नीति र संचारका पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिने भएका छन् ।
उनी सेन्टर फर अमेरिकन प्रोग्रेसकी प्रमुख कार्यकारी हुन् । यो बाम झुकाव भएको केन्द्रका रुपमा परिचित रहेको छ । टण्डन भारतीय मुलकी हुन् । उनका बाबुआमा भारतबाट अमेरिका बसाई सराई गरेका थिए । टण्डन नियुक्त भएमा उनी उक्त अफिसको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुनेछिन् ।
उनी सन् १९७० मा अमेरिकाको मासाचुसेट्समा जन्मिएकी हुन् । उनका एकजना भाई राज टण्डन रहेका छन् । जब उनी ५ बर्षकी थिइन्, तब उनका बुबाआमाको डिभोर्स भएको थियो । पारपाचुकेपछि उनकी आमा माया टण्डनले नीरा र राजलाई हुर्काउनका लागि वेलफेयरको सहायता लिनु परेको थियो । फुडस्ट्याम्प र आवासीय सुविधा समेत लिएर आमाले निरा र उनका भाईलाई हुर्काइन् ।
नीराले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आर्टसमा ब्याचलर गरेकी थिइन् भने यल युनिभर्सिटीबाट जुरिस डाक्टर गरेकी थिइन् । त्यसपछि वासिंटनमा डिसीमा क्यापिटल हिलमा उनले घरेलु नीतिबारे काम गरिन् । उनी डेमोक्रेटिक पार्टीभित्रकी प्रगतिशिल व्यक्तित्वका रुपमा चिनिन्छिन् ।
नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपति हुने निश्चित भएका जो बाइडेनलाई आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिनेछ र जनवरी २० मा बाइडेनले सपथग्रहण गर्नेछन् ।
नयाँ राष्ट्रपतिले झण्डै ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्ने भएकाले बाइडेन यतिबेला त्यसको तयारीमा छन् । मन्त्रिपरिषद्का पदहरुमा पनि बाइडेनको रोजाईमा विदेशमन्त्रीमा स्टोनी ब्लिंकेन र गृहमन्त्रीमा अलेहान्द्रो मेयरकास परेका छन् । चिफ अफ स्टाफमा रोन क्लेन, राष्ट्रिय खुफिया प्रमुखमा एभरिल हेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकारमा ज्याक सुलिभान, राष्ट्रसंघका लागि राजदूतमा लिण्डा थोमस ग्रिनफिल्ड र जलवायुका लागि राष्ट्रपतिका विशेष दूतमा जोन केरीलाई नियुक्त गरिने भएको छ ।
सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ। सत्ता हस्तान्तरण प्रकृयामा सङ्घीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ। यो समान्यतया राष्ट्रपति निर्वाचितले सङ्कलन गरेको कोषबाट परिपूर्ति गरिन्छ।
बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर सङ्कलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपील गरेका थिए । यसपटक चुनावका नतिजाहरु आउन ढिलो भएका कारण सत्ता हस्तान्तरण प्रकृयामा केही ढिलाई भएको छ ।
सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो। मतपरिणामविरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो। तर त्यस बेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो।