म्यानेजमेन्ट र बजेट अफिस निर्देशकमा बाइडेनले नीरा टण्डनलाई नियुक्त गर्ने


प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानेजमेन्ट र बजेट अफिस निर्देशकमा नीरा टण्डनलाई नियुक्त गर्ने भएका छन् । मुख्य आर्थिक नीति र संचारका पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिने भएका छन् ।

उनी सेन्टर फर अमेरिकन प्रोग्रेसकी प्रमुख कार्यकारी हुन् । यो बाम झुकाव भएको केन्द्रका रुपमा परिचित रहेको छ । टण्डन भारतीय मुलकी हुन् । उनका बाबुआमा भारतबाट अमेरिका बसाई सराई गरेका थिए । टण्डन नियुक्त भएमा उनी उक्त अफिसको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुनेछिन् ।

उनी सन् १९७० मा अमेरिकाको मासाचुसेट्समा जन्मिएकी हुन् । उनका एकजना भाई राज टण्डन रहेका छन् । जब उनी ५ बर्षकी थिइन्, तब उनका बुबाआमाको डिभोर्स भएको थियो । पारपाचुकेपछि उनकी आमा माया टण्डनले नीरा र राजलाई हुर्काउनका लागि वेलफेयरको सहायता लिनु परेको थियो । फुडस्ट्याम्प र आवासीय सुविधा समेत लिएर आमाले निरा र उनका भाईलाई हुर्काइन् ।

नीराले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आर्टसमा ब्याचलर गरेकी थिइन् भने यल युनिभर्सिटीबाट जुरिस डाक्टर गरेकी थिइन् । त्यसपछि वासिंटनमा डिसीमा क्यापिटल हिलमा उनले घरेलु नीतिबारे काम गरिन् । उनी डेमोक्रेटिक पार्टीभित्रकी प्रगतिशिल व्यक्तित्वका रुपमा चिनिन्छिन् ।

नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपति हुने निश्चित भएका जो बाइडेनलाई आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिनेछ र जनवरी २० मा बाइडेनले सपथग्रहण गर्नेछन् ।

बाइडेनले ह्वाइट हाउस प्रेस सेक्रेटरीमा जानिफर साकीलाई नियुक्त गर्ने भएका छन् ।

नयाँ राष्ट्रपतिले झण्डै ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्ने भएकाले बाइडेन यतिबेला त्यसको तयारीमा छन् । मन्त्रिपरिषद्का पदहरुमा पनि बाइडेनको रोजाईमा विदेशमन्त्रीमा स्टोनी ब्लिंकेन र गृहमन्त्रीमा अलेहान्द्रो मेयरकास परेका छन् । चिफ अफ स्टाफमा रोन क्लेन, राष्ट्रिय खुफिया प्रमुखमा एभरिल हेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकारमा ज्याक सुलिभान, राष्ट्रसंघका लागि राजदूतमा लिण्डा थोमस ग्रिनफिल्ड र जलवायुका लागि राष्ट्रपतिका विशेष दूतमा जोन केरीलाई नियुक्त गरिने भएको छ ।

सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ। सत्ता हस्तान्तरण प्रकृयामा सङ्घीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ। यो समान्यतया राष्ट्रपति निर्वाचितले सङ्कलन गरेको कोषबाट परिपूर्ति गरिन्छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर सङ्कलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपील गरेका थिए । यसपटक चुनावका नतिजाहरु आउन ढिलो भएका कारण सत्ता हस्तान्तरण प्रकृयामा केही ढिलाई भएको छ ।

सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो। मतपरिणामविरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो। तर त्यस बेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com