पेन्सिलभेनियाको चुनावी प्रमाणिकरण रोक्ने ट्रम्प पक्षको प्रयास संघीय पुनारावेदनबाट अस्वीकार


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

पेन्सिलभेनियाको चुनावी नतिजाको प्रमाणिकरण रोक्ने डोनाल्ड ट्रम्प पक्षको प्रयास संघीय पुनारावेदनबाट पनि अस्वीकार भएको छ । तेश्रो सर्किट कोर्ट पुनारावेदन अदालतबाट तीनजना रिपब्लिकन नियुक्त न्यायाधिसहरुले एकमतका साथ ट्रम्प पक्षको प्रयास अस्वीकार गरेका हुन् ।

चुनावमा धाँधली भएको भन्दैमा वास्तवमै चुनाव धाँधली भएको नठहर्ने र त्यसलाई पुष्टी गर्न विशेष आरोपसहित प्रमाणहरु पनि आवश्यक पर्ने तर त्यस्तो कुनै प्रमाण नपुगेको भन्दै तीनजना न्यायाधिसको प्यानलले चुनावको प्रमाणिकरण उल्टाउने ट्रम्प अभियानको प्रयासलाई खारेज गरेका हुन् । मुद्दाबारेको फैसला ट्रम्पले नै नियुक्त गरेका न्यायाधिस स्टेफानोस बिवासले लेखेका हुन् । अरु दुईजना न्यायाधिसहरु जर्ज डब्ल्यु बुसले नियुक्त गरेका हुन् ।

गत नोभेम्बर २१ मा संघीय अदालतले ट्रम्प प्रक्षको प्रयासलाई अस्वीकार गरेपछि पुनरावेदन अदालतमा मुद्दा दायर गरिएको थियो । पेन्सिलभेनियाले केहीदिन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरेर इलेक्टरहरु छनौट गरिसकेको छ । ती इलेक्टरहरुले डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपतिको औपचारिक रुपमा छनौट गर्नेछन् ।

अदालतले ट्रम्प पक्षका दावीहरु प्रयाप्त र भरपर्दा नरहेको ठहर गरेको छ । राष्ट्रपति वकिलहरुले नभई मतदाताले छान्ने र चुनावको निर्धारणले वकिलको मतले नभई मतपत्रहरुले छान्ने अदालतको निर्णयमा उल्लेख गरिएको छ । यो मुद्दा ट्रम्प पक्षबाट दायर गरिएका र अदालतबाट अस्वीकार भएका पछिल्ला ४० मध्येको एउटा मुद्दा हो ।

अब ट्रम्प पक्ष यो मुद्दालाई लिएर सर्वोच्च अदालतमा जाने भएको छ । सर्वोच्च अदालतमा रिपब्लिकनले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ । सर्वोच्चका ९ न्यायाधिसमध्ये ६ जना रिपब्लिकन नियुक्त र ३ जना डेमोक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका छन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com