बाल्यकालमै बाबुआमा गुमाएका २२ बर्ष आर्यघाटमा बिताएका एलिसले पाए नागरिकता
प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार
२२ बर्षसम्म काठमाडौंको पशुपति आर्यघाटमा जीवन बिताएका एलिस तामाङ्ले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहिबार एलिसलाई नागरिकता प्रदान गरेको हो ।
विभिन्न संघ–संस्थाको पहल र हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१ का अध्यक्ष सविन न्यौपानेको सक्रियताका कारण एलिसले नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गरेपछि एलिसले खुशी हुँदै सहयोगी सबैप्रति धन्यवाद दिए ।
आर्यघाटमा बित्यो २२ बर्ष
बाबु ध्वजबहादुर तामाङ् र आमा संगीता तामाङ्संगै एलिस र उनका दाजु काठमाडौको पशुपति मन्दिरमा बस्दै आएका थिए । उनी सानै छँदा २०६६ मा बुवाको र २०६८ सालमा उनको आमाको मृत्यु भयो ।
आमाबाबुको मृत्युपछि असहाय बनेका एलिस आर्यघाटमा पैसा खोज्ने, अन्तिम संस्कारमा बगाइएका बहुमुख्य धातु सुन,चाँदी खोज्ने, कपडा खोज्ने काममा व्यस्त हुन्थे । कहिलेकाँही पुराना प्यास्टीकका बोटल, कवाडी सामग्री टिप्ने र आर्यघाटमा शव जलाउँन सहयोग गर्थे । यीनै गतिविधिमा उनको २२ बर्ष बित्यो ।
उनीसँग भोकभोकै चिसो रात खुल्ला आकाशमा काँप्दै बिताउनुपरेको तिता अनुभवको खानीनै छन् । मानिसहरुले अश्लिल शब्द बोल्दै गालि गरेको अनि ‘खाते’ भन्दै हेपेको उनी झल्झली सम्झन्छन् ।
उनको गतिविधि र अवस्थाको विषयमा विभिन्न समयमा डकुमेन्ट्रीसमेत निर्माण भएका छन् । तर यसबिचमा उद्धारका लागि कसैले पनि पहल नगरेको उनी स्मरण गर्छन् । उनका दाजु भने अघोरी बाबाको रुप धारण गरेर पशुपतिमै बसेका छन् ।
‘यहाँसम्म आइपुग्छु भन्ने कल्पनैँ थिएन ’
जीवनको लामो समय सडक बालकको रुपमा बिताएका एलिसले नागरिकता पाउँछु भन्ने कल्पना समेत गरेका थिएनन् । अहिले उनीसंग जीवनमा केही गर्ने उत्साह र जाँगर पलाएको छ ।
करिब ३ महिना अघि ‘साथ साथ’ नामक संस्थाका प्रतिनिधि मकवानपुर निवासी नम्रता लामाले एलिसलाई भेटेकी थिइन् ।
उनले हेटौंडामा रहेर सडक बालकालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल नामक संस्थासंग एलिसलाई नागरिकता दिलाइदिन भन्दै सहयोगको सहयोग मागिन्।
नम्रता र मामाघर नेपालका संस्थापक संरक्षक अपर्ण पराजुली उनलाई नागरिकता दिलाउने योजनामा तल्लिन भए । हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १ का अध्यक्ष सविन न्यौपानेले पनि यो कार्यका लागि सक्रियता देखाए । हेटौंडा –१ का बासिन्दा प्रताप लामा एलिसका काका रहेछन् । उनको जन्मघर हेटौंडाकै बसामाडी रहेछ । वडाअध्यक्षको सक्रियताले एलिसको काका फेला परे । बाबु आमाको मृत्यु दर्ता, एलिसको जन्मदर्ता बनाइयो र अन्तत उनले नागरिकता पाए ।
मामाघरले सिप सिकाउने
एसिललाई मामाघर नेपालले सिप सिकाउने भएको छ । एलिसलाई स्वयंमसेवकको रुपमा राख्ने र उनलाई व्यवसायिक सिप सिकाएर योग्य बनाउने मामाघर नेपालले बताएको छ ।
आफुलाई संरक्षणसंगै सिप सिकाइदिने र आफु जस्तै बालबालिकाको सेवा गर्न पाउने अवसर मिलेपछि उनी मामाघरप्रति आभारी भएका
छन् ।
यसअघि लामो समय सडक जीवन बिताई मामाघर नेपालमा आश्रय लिँदै आएका राजु अधिकारीले पनि नागरिकता पाइसकेका छन् । उनी अहिले राष्ट्रियस्तरको हक्की खेलाडिको रुपमा परिचित छन् ।