नतिजा प्रमाणिकरणको भोलिपल्ट बाँकी प्रमाणिकरण नगर्न पेन्सिलभेनियाका न्यायाधिसको आदेश


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

पेन्सिलभेनियाको अपिल कोर्टका रिपब्लिकन न्यायाधिसले चुनावको नतिजा प्रमाणिकरणका आगामी कमदहरु चाल्नमा रोक लगाउने आदेश जारी गरेकी छिन् । न्यायाधिसले बुधबार बाँकी प्रमाणिकरण रोक्ने आदेश जारी गरेपनि पेन्सिलभेनियामा सबै प्रमाणिकरण मंगलबार नै समाप्त भएर इलेक्टरहरु समेत चयन भइसकेका छन् ।

पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेटले मंगलबार नै जो बाइडेनको जीतको घोषणा गर्दै चुनावको अन्तिम नतिजा प्रमाणिकरण गरेका थिए । पेन्सिलभेनियामा बाइडेनले डोनाल्ड ट्रम्पको तुलनामा ८० हजारभन्दा धेरै मत ल्याएर विजय प्राप्त गरेका हुन् ।

पेन्सिलभेनियाका एटोर्नी जनरल जोस सापिरोले बुधबार आएको न्यायाधिसको आदेशले मंगलबार नै छानिइसकेका इलेक्टरका सन्दर्भमा कुनै असर नगर्ने बताएका छन् । उनले बुधबारको आदेशले कुनै प्रभाव नपार्ने इंकित गर्दै पेन्सिलभेनियाको सर्वोच्च अदालतमा फाइल गर्ने बताएका छन् ।

ट्रम्प अभियानले पेन्सिलभेनियामा बाइडेनको जीत उल्टाउने आशामा पुनरावेदन अदालतमा मुद्दा दायर गरेको छ । जसबारे विशेष सुनुवाई शुक्रबार हुने भएको छ ।

मिसिगन र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सोमबार सम्म रहेकोमा मिसिगन र मैनले सोमबार नै प्रमाणिकरण गरेका थिए ।

मिनेसोटा, नर्थ क्यारोलिना र नेभाडाले पनि चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् । एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com