चुनावी प्रमाणिकरण रोक्ने ट्रम्प पक्षको प्रयास संघीय अदालतबाटै खारेज


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

चुनावमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियामा चुनावी प्रमाणिकरण रोक्नका लागि गरेको प्रयासलाई संघीय अदालतले खारेज गरिदिएको छ । संघीय न्यायाधिस म्याथ्यु ब्रानले ट्रम्प अभियानको प्रयासलाई खारेज गर्दै प्रमाणिकरणका लागि बाटो खोल्ने पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेटको अनुरोधलाई सदर गरिदिएका छन् ।

ट्रम्पका वकिल रुडी जुलियानीले यो मुद्दामा व्यक्तिगत रुपमा नै नेतृत्व गरेका थिए भने मंगलबार पेन्सिलभेनियामा भएको सुनुवाईमा उपस्थीत समेत भएका थिए । न्यायाधिस ब्रानले ट्रम्पको अभियानको तर्कमा दम नभएको र एउटा मतदाताको विषयले सिंगै राज्यको चुनावलाई प्रमाणिकरणबाट गर्नबाट रोक्न नसक्ने बताएका छन् ।

ट्रम्प अभियानका तर्फबाट विभिन्न राज्यमा प्रमाणिकरणका रोक्नका लागि भइरहेका प्रयासका बाबजुत जर्जियामा शुक्रबार नै चुनावी नतिजाको आधिकारिक प्रमाणिकरण भइसकेको छ । जर्जियामा तोकिएको डेडलाइन अगाडि नै चुनावी नतिजा प्रमाणिकरण गरिएको हो ।

मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सम्म रहेको छ । यी तीनवटै राज्यमा बाइडेनले चुनाव जितेका छन् । मैनको दोश्रो संसदीय जिल्लाबाट ट्रम्पले एक इलेक्टोरल मत जितेका छन् ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

मिसिगनमा सोमबार गणकहरुको बैठक राखिएको छ । यसैबीच शुक्रबार ट्रम्पले त्यहाँका रिपब्लिकन सांसदहरुसँग ह्वाइटहाउसमा बैठक समेत राखेका थिए । पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन नरहेपनि सोमबारसम्म प्रमाणिकरण गर्ने तालिका छ । मैनमा भने खास विवाद नरहेकाले कुनै समस्या देखिएको छैन ।

मिनेसोटा, नर्थ क्यारोलिना र ओहायोमा नोभेम्बर २४ को डेडलाइन रहेको छ । मिनेसोटामा बाइडेनले जितेका छन् भने नर्थ क्यारोलिना र ओहायोमा ट्रम्पले जितेका छन् । यी राज्यहरुमा खासै विवाद देखिएको छैन ।

एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

नेभाडा र विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । नेभाडामा बाइडेनले जीतेपनि ट्रम्प पक्षधरले आफूले जितेको दावी गर्दै मुद्दा दायर गराएका छन् । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com