कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एन टेक मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको निष्कर्ष निकालिएको छ । यो भ्याक्सिनले ९० प्रतिशत बढी लक्षण सहितको संक्रमणको रोकथाम गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

दशौं हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणबाट यस्तो निचोड निकालिएको हो । यो कोरोनाबिरुद्धको युद्धमा सबैभन्दा उत्साहजनक अग्रता हो । ९४ जना सहभागीमा गरिएको अन्तरिम विश्लेषणका आधारमा यो निष्कर्ष निकालिएको छ । यो परीक्षण १६४ केस हुँदासम्म जारी रहनेछ ।

अबको झण्डै एकसातापनि सुरक्षा र प्रभावकारिता लगायतको तथ्यांक यसरी नै सही ट्रयाकमा गएमा विश्वले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नेछ । कोरोनाको महामारीबाट अहिलेसम्म विश्वमा १२ लाख भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो भ्याक्सिनको प्रभावकारिता ६० देखि ७० प्रतिशत हुने अपेक्षा गरिएकोमा ९० प्रतिशत नाघेकोमा फाइजर र बायो एन टेकले उत्साह व्यक्त गरेको छ । अहिलेसम्म बढी उमेरका व्यक्तिमा प्रभावकारितबारे तथ्यांकहरु सार्वजनिक हुन बाँकी छ ।

त्यस्तै सिकिस्तै बिरामी भएकाहरुलाई प्रभावकारी हुने नहुनेबारे पनि अझै तथ्याकहरु सार्वजनिक हुन बाँकी छ । यो चरणको विश्लेषणमा त्यस्ता प्रकारका केसहरु समावेश नभएको जनाइएको छ ।

त्यस्तै मोडेर्नाको भ्याक्सिन पनि सफलताका साथ अगाडि बढीरहेको छ । फाइजरले दुईमहिनाको फ्लोअप डाटासहित यसै महिना अमेरिकामा प्रयोगको स्वीकृतिका लागि आवेदन दिने जनाइएको छ । नोभेम्बरको अन्तिम साता आवेदन दिने अपेक्षा गरिएको छ । प्रभावकारिता यही ढंगले कायम भएमा अमेरिकाले अर्को महिना कोरोनाबिरुद्धका २ प्रकारका भ्याक्सिन प्राप्त गर्नेछ ।

फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगका लागि चुनावपछि अनुमति मागिने उक्त कम्पनीका सीईओ अल्बर्ट बाउरियाले जनाएका छन् । तथ्यांकहरु तयार हुनासाथ सुरुमा आपतकालिन प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष आवेदन दिइने छ । एफडीएले भ्याक्सिन सुरक्षित रहेको कम्तीमा दुईमहिनाको तथ्यांक प्राप्त गरेपछिमात्र आपतकालिन अनुमति दिने जनाएको छ ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

गतसाता कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिन बेलायतले पनि तीब्र पुनरावलोकन सुरु गरिसकेको छ । बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिनको तीब्र पुनरावलोकन सुरु गरिसकेको आष्ट्राजेनेकाका प्रवक्ताले जनाएका हुन् ।

पुनरावलोकनका क्रममा नियामक निकायले भ्याक्सिनको क्लीनिकल तथ्यांकहरु हेर्न सक्नेछन् । साथै स्वीकृति प्रकृया तीब्र पार्न उत्पादन प्रकृया र परीक्षणबारे उत्पादक कम्पनीसँग कुराकानी समेत गर्न सक्नेछन् । आष्ट्राजेनेका भ्याक्सिनको उत्पादन अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भइरहेको छ ।

बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको पनि तीब्र पुनरावलोकन सुरु गरेको जनाइएको छ ।

बेलायतको अष्ट्राजेनेका भ्याक्सिन बुढाबुढी र जवानहरुमा इम्युन विकाश गर्न सफल भएको कम्पनीले जनाएको छ । यो भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com